सकियो राष्ट्रपति रनिङ शिल्ड

पुष १३, २०८१     स्मार्ट संवाददाता


भीरकोट नगरपालिकामा  संचालित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार  सम्पन्न भएको  छ। प्रतियोगितामा ३६ अंक प्राप्त  गरेर  भाग्योदय माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी ३० अंक प्राप्त गर्दै सहिद शुक्र मा.वि. बानेथोक देउराली द्वितीय र २४ अंक प्राप्त गर्दै दहथुम मा.वि.  तृतीय भएको छ।

यसैगरी भू. पू.  आवासीय मा.वि. ले २२ अंक,  कन्साइन्स मा.वि. ले १८ अंक,  बालज्योती अंग्रेजी आवासीय  माध्यमिक विद्यालय १८ अंक ,  बालोदय अंग्रेजी आवासीय  माध्यमिक  विद्यालयले १२ अंक , पब्लिक एकेडेमीले ८ अंक  पदक हात पारेका छन्। प्रतियोगितामा सहभागी १७ वटा माध्यमिक विद्यालय मध्य ४ वटा विद्यालयले कुनै पनि पदक जित्न सकेनन्। धेरै  पदक जितेका विद्यालयहरूले नियम विपरीत खेलाडी खेलाएकाले रनिङ शिल्ड कुनै पनि विद्यालयलाई नदिइएको खेलकुद समितिका संयोजक एवं नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो।

प्रतियोगितामा छात्र र छात्राहरूले १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर दौड, १x४०० मिटर रिले, ४x४०० मिटर रिले, कपर्दी, भलिबल, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सट पुट, र ज्याभ्लिन थ्रोजस्ता खेलमा भाग लिएका थिए।

समापन समारोहमा विश्व हिन्दु युवा संघका अध्यक्ष नवराज पौडेल र अन्डर १९ भलिबल खेलाडी जितबहादुर एस.के. लाई सम्मान गरिएको थियो। अध्यक्ष पौडेले जिल्लामा नैतिक शिक्षा विषयको पठनपाठन गर्न र  शैक्षिक तथा धार्मिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा  गर्दै सम्मान गरिएको हो। खेलाडी एस. के. लाई खेलकुदको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको हो।