भीरकोटमा राष्ट्रपति रनिङ शिल्ड सुरु

पुष ०९, २०८१     स्मार्ट संवाददाता


भीरकोट नगरपालिकामा  राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। १७ विद्यालयका करिब ६८० विद्यार्थीहरूले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने रनिङशिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको हो।

प्रतियोगितामा छात्र र छात्राहरूले १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर दौड, १x४०० मिटर रिले, ४x४०० मिटर रिले, कपर्दी, भलिबल, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सट पुट, र ज्याभ्लिन थ्रोजस्ता खेलमा भाग लिनेछन्।

कार्यक्रमको उद्घाटन  गर्दै  पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले विद्यार्थीहरूलाई देशको असल नागरिक बन्न प्रयत्नशील रहन आग्रह गर्नुभयो। उहाँले स्याङ्जा शैक्षिक र भौतिक विकासमा आफ्नो भूमिका महत्त्वपूर्ण रहेको दाबी गर्नुभएको थियो ।

नेकपा एमालेका नेता विश्वनाथ अर्यालले नगर प्रमुख गोविन्द कुमार कर्माचार्यलाई चुनावी घोषणापत्र अनुसार काम गर्न अनुरोध गर्नुभएको थियो। शैक्षिक गुणस्तर वृद्धि , भीरकोटका सबै नागरिकको निशुल्क स्वास्थ्य बीमा, एक शिक्षक एक ल्यापटप कार्यक्रम घोषणापत्रमा भएपनि हालसम्म कार्यान्वयन नभएको उहाँको भनाई थियो।

नगर प्रमुख  गोविन्द कुमार कर्माचार्यले भीरकोट नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता नियमित रूपमा संचालन गरिरहेको बताउनुभयो। उहाँले   विद्यार्थी खेलाडीहरूलाई अनुशासित भएर खेल खेल्न र खेलको माध्यमबाट नगरपालिका,गण्डकी प्रदेश र देशको नाम राख्ने गरि अगाडि बढ्न आग्रह गर्नुभएको थियो।

उहाँले भीरकोटको शैक्षिक गुणस्तर सुधारमा पालिकाले सक्दो प्रयास गरिरहेको र नतिजा सुधार गर्न सबैको रचनात्मक र सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो। विपन्न नागरिकको निशुल्क स्वास्थ्य बीमा गरिएको बताउँदै उहाँले भीरकोटको विकासका लागि स्थानीय सरकारले निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले स्वास्थ , शिक्षा, कृषि,  सडक निर्माण र तटबन्ध निर्माणलाई विशेष प्राथमिकता दिइएको बताउँदै यो वर्ष  आँधिखोलामा करिब २ कि.मी. तटबन्धन निर्माण हुने जानकारी दिनुभयो।

प्रतियोगिताको पहिलो दिन १५०० मिटर दौड, १०० मिटर दौड, कपर्दी, र भलिबल खेलहरू सम्पन्न भएका छन्। खेल संयोजक शोभाकान्त पौडेलका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १३ गतेसम्म चल्नेछ।