खेलकुद महोत्सवमा स्याङ्जाका क्रीकेट खेलाडी  सम्मानित

मङि्सर ०६, २०८१     स्मार्ट संवाददाता


स्याङ्जाको अर्जुनचौपारी गाउँपलिकाले यु -१९ विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई सम्मान गरेको छ ।

गाउँपालिकाले  खेलाडीहरू ज्योत्सिना मरासिनी,  सीमाना केसी र कुसुम गोदारलाई जनही १५ हजार रुपियाँ नगद, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो भने क्यान स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मानपत्रले सम्मान गरिएको हो ।

 दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सवको उद्घाटनमा बिहीबार तीन जना खेलाडी र क्यान अध्यक्ष थापालाई गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रकाशकिय अधिकृत कौशल पाण्डेले सम्मान गर्नु भएको हो ।

सम्मान गर्दै अध्यक्ष तिवारीले खेलाडी देशको गहना भएकाले सबैले खेल र खेलाडीको सम्मान गर्नुपर्ने बताउनुभयो । खेलकुदको विकासमा गाउँपालिका हरपल सहयोग रहने पालिका अध्यक्ष तिवारीको भनाई थियो ।

मङसिर ८ गते सम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सवमा गाउँपालिकाका ३३ विद्यालयका ९ सय विद्यार्थीको सहभागिता रहेको छ ।

४५ स्वर्ण, ४५ रजत र ४५ कास्य पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा कक्षा १ देखि १२ कक्षाका विद्यार्थीको सहभागिता रहेको छ ।

खेलकुद महोत्सबमा कक्षा १ देखि कक्षा ५ सम्म चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य प्रतियागिता रहेको छ । यस्तै कक्षा ६ देखि कक्षा १२ सम्म दौड, हाइजम्प, लङ्जम्प, त्रिपल जम्प, भलिबल, कबड्डी, डोरी तान्ने खेल रहेका छन् ।

कार्यक्रममा क्यानका जिल्ला अध्यक्ष थापाले विद्यालयबाट वल्डकपको यात्रा खेलाडीले तय गरेको बताउनुभयो । महिला क्रिकेटमा पछिल्लो समय गण्डकी प्रदेशमा स्याङजाका खेलाडी दबदबा रहेको बताउदै केन्द्रमा समेत अब बर्चश्व रहने बताउनुभयो । कार्यक्रममा सम्मानित खेलाडी सीमाना केसी, वडा नं १ का अध्यक्ष रण, बहादुर थापा, लाल केसी लगायतले मन्तब्य राख्नु भएको थियो ।