CAD  भलिबल प्रतियोगिताको उपाधि बालोदयलाई

मङि्सर ०१, २०८१     स्मार्ट संवाददाता


प्याब्सन भीरकोट र भू.पु. सैनिक कम्युनिटी एकेडेमीले संयुक्त रूपमा आयोजना गरेको  CAD स्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बालोदय अंग्रेजी आवासीय माध्यमिक विद्यालयले उपाधि आफ्नो पक्षमा पारेको छ। शुक्रबार भएको  फाइनल खेलमा बालोदयले बालज्योति अग्रेजी आवासीय  मा.वि. लाई २-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो।बालज्योती मा.वि.ले दोस्रो स्थानमा चित्त बुझायो ।

प्रतियोगिताको सेमिफाइनलमा बालज्योतिले भूपू सैनिक कम्युनिटी एकेडेमीलाई २-१ को सेटमा पराजित गरेको थियो। यसअघि, बालज्योतिले पहिलो खेलमा बुद्ध अंग्रेजी आवासीय  मा .वि.लाई २-१ को सेटमा पराजित गरेको थियो। उता बालोदयले दोस्रो खेलमा कन्साइन्स  अंग्रेजी आवासीय माध्यमिक विद्यालयलाई २-१ को सेटमा हराउँदै फाइनलमा प्रवेश पाएको थियो।

बालोदय विद्यालयको यो जितले विद्यालयका विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह बढाउने विश्वास लिइएको छ। प्रतियोगिताका विजेता तथा  उत्कृष्ट खेलाडीहरूलाई शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।  प्याब्सन भीरकोटका संयोजक साजन परियारले विजेता र सहभागी सम्पूर्ण विद्यालयलाई बधाई एवं धन्यवाद व्यक्त गर्दै भीरकोटका संस्थागत विद्यालयहरूबिच सहकार्य र एकतालाई सुदृढ बनाउँदै शैक्षिक गुणस्तर सुधार्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।प्रतियोगितामा भीरकोटका ५ वटा संस्थागत विद्यालयहरूको सहभागिता रहेको थियो।

प्याब्सन भीरकोटको संयोजनमा भीरकोटका ५ वटा संस्थागत विद्यालयमा त्रैमासिक  परीक्षा, विद्यालय खुल्ने दिन  र अतिरिक्त क्रियाकलापहरूमा एकरूपता ल्याइएको प्याब्सन भीरकोटका संयोजक साजन परियारले जानकारी दिनुभयो। तर भीरकोटका सामुदायिक विद्यालयहरूबिच एकता र सहअस्तित्वको भावना कमजोर देखिएको छ।