लैङ्गिक हिंसा विरूद्ध सचेतना जगाउन वक्तृत्वकला प्रतियोगिता
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले लैङ्गिक हिंसा विरूद्ध सचेतना जगाउन गाउँपालिकास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत “लैङ्गिक हिंसा निवारणमा नागरिकको भुमिका¨ शिर्षकमा खुल्ला वक्तृत्वकला प्रतियोगिता गरिएको हो।
वक्तृत्वकलामा दिपीका अर्याल प्रथम हुनु भएको छ । १२ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै अर्यालले प्रथम स्थान बन्नु भएको हो । यस्तै सुलता थापा मगर द्वितीय र प्रविन विकले तृतीय स्थान हात पार्नु भएको छ। प्रतियोगितामा नन्दकली तिवारीले सान्त्वना स्थान प्राप्त गर्नु भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले समाजमा महिला हिंसा कायमै रहेको बताउदै सरोकारवाला सबै मिलेर न्यूनीकरण गर्नुपर्ने बताउनुभयो। यस अभियानमा आमा समुह तथा स्वास्थ्य स्वयं सेविका सबैको साथ चाहिने तिवारीको भनाई थियो ।
कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे, पालिका प्रवक्ता धन बहादुर गुरुङ, कार्यपालिका सदस्य ज्योती केशी ढकाल लगायतले लैङ्गिक हिंसा न्यूनीकरण गर्न सचेतना र महिला सशक्तीकरणमा जोड दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा प्रतिस्पर्धीका साथै आमा समुहका प्रतिनिधि , महिला स्वयंसेवीका , विद्यार्थीहरूको सहभागिता भएको थियो ।