क्यान्सर पीडितलाई आर्थिक सहयोग
पब्लिक एकेडेमी माध्यमिक विद्यालय , लगनशील आमा समुहको र जनएकता युवा क्लबको सक्रियतामा स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ८ निवासी चुरीमाया गुरूङलाई आर्थिक सहयोग प्रदान गरिएको छ। विद्यालय र आमा समुहले संयुक्त रूपमा ६१ हजार ७ सय ३५ रूपैयाँ आर्थिक सहयोग गरेका हुन्। यसगरी जनएकता युवा क्लबले १ लाख १६ हजार ८ सय ३० रूपैयाँ आर्थिक सहयोग गरेको छ। क्लबले संचालन गरेको चुरीमाया बचाउ अभियानबाट संकलित रकम उहाँलाई प्रदान गरेको हो।
विद्यालयको जुनियर रेडक्रस सर्कल , बालक्लब र शिक्षकहरूबाट उठेको २१ हजार ६ सय ८५ रूपैयाँ विद्यालयका बालक्लबका अध्यक्ष उपासना थापा ,जुनियर रेडक्रस सर्कलका अध्यक्ष भगवती रेग्मी र सहायक प्रधानाध्यापक रिवन कुमार विश्वकर्माले संयुक्तरूपमा चुरीमाया गुरूङलाई हस्तान्तरण गर्नुभयो । यसैगरी लगनशील आमा समुहको सक्रियतामा संकलन गरिएको ४० हजार ५० रूपैयाँ सहयोग रकम समुहको तर्फबाट अध्यक्ष गीता राना भूजेलले गुरूङलाई हस्तान्तरण गर्नुभएको हो।
वडा नं. ८ ढापुक निवासी गुरुङ विगत ६ महिनादेखी क्यान्सर रोगसँग संघर्ष गरिरहनुभएको छ। कमजोर आर्थिक अवस्था भएका कारण उहाँको उपचारमा कठिनाइ भइरहेको छ। जनएकता युवा क्लबका पूर्व अध्यक्ष घनबहादुर गुरुङकी श्रीमती चुरीमायाको स्वास्थ्य उपचारको लागि जनएकता युवा क्लबले सबै मनकारीहरूसँग सहयोगको अपिल गरेको छ। क्लबका अध्यक्ष विजय गुरूङले देश, विदेशमा रहनुभएका सबैलाई सहयोगको लागि आग्रह गर्नुभएको छ।
परिवारले पनि उपचारका लागि आवश्यक रकम जुटाउन देशभित्र र बाहिर रहेका मनकारी व्यक्तिहरूसँग सहयोगको अपिल गरेको छ।