महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

मङि्सर ११, २०८१     स्मार्ट संवाददाता


निजामती  सेवामा महिला सहभागिता बढाउने उद्देश्यले स्याङ्जामा मंगलबारदेखि २० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले महिलालाई लक्षित गर्दै (खसआर्य, जनजाती, दलित, अपांग) लगायत ४० जनालाई सहभागी गराई खरिदार तह सरहका कक्षा सुरु गरेको हो ।

तयारी कक्षाको औपचारिकरुपमा शुभारम्भ गर्दे स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कक्षाको सहि सदुपयोग गर्दै अध्ययनको बानी बढाउन सुझाव दिनुभयो ।
यहाँ छुट्टयाइएको २० दिन पर्याप्त नभएको बताउदै नेपालले सहभागीहरूलाई  पर्याप्त तयारी गर्न स्वाध्ययनमा जोड दिन सुझाव दिनुभयो।यसै कक्षालाई आधार मानेर नियमित अध्ययन गरेमा अवश्य सफल हुने प्रजिअ नेपालको भनाई थियो ।

कार्यक्रममा करदाता सेवा कार्यालय प्रमुख गंगा बस्याल, जिल्ला प्रशासन कार्यालयका  शाखा अधिकृत संयोग भट्टराई, सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल, नायब सुब्बा दोर्णप्रसाद पनेरु लगायतले अध्ययनशिल युवाहरुको पहिलो रोजाई निजामति सेवा भएको बताउदै निशुल्क कक्षाबाट धेरै भन्दा धेरै लाभ लिन आग्रह गर्नु भएको थियो ।

तयारी कक्षामा ६० सेसन हुनेछ भने दैनिक साढे ४ घण्टा पढाउनेगरी जिल्ला र केन्द्रमा बसी आयोग सम्बन्धी अनुभवी प्रशिक्षकद्धारा कक्षा लिईने छ ।