स्वास्थ्य शिविरबाट ६ सय ६६ सेवाग्राही लाभान्वित
सामाजिक संस्था खुमा अर्याल फाउन्डेसनको आयोजनामा स्याङ्जाको भीरकोट नगरपालिका संचालन भएको विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविरबाट ६ सय ६६ सेवाग्राही लाभान्वित भएका छन्। गण्डकी मेडिकल कलेज र फाउन्डेसनको सहकार्यमा कालिका बहुमुखी क्याम्पसको प्राङ्गणमा संचालन भएको विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविरमा भीरकोट नगरपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका स्थानीयहरूले स्वास्थ्य सेवा लिएका हुन्।
फाउन्डेसनको आयोजना र नेपाल रेडक्रस सोसाइटी , स्याङ्जाको प्राविधिक सहयोगमा खुला रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ। सोही स्थानमा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिनुभयो।
फाउण्डेशनले आफ्नो छैटौँ वार्षिक उत्सवका अवसरमा स्वास्थ्य शिविर, रक्तदान र खेलाडी सम्मान गरेको हो। सम्मान कार्यक्रममा बोल्दै स्याङ्जा क्षेत्र नं-१ का सङ्घीय सांसद राजु थापाले खेलाडी देशको पहिचान र सम्पत्ति भएकाले सबैले खेल र खेलाडीको सम्मान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख श्री प्रसाद जिटि, पुतलीबजार नगर प्रमुख तुलसी राम रेग्मी, अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रकाश तिवारी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, फाउन्डेसनका संस्थाको अभिभावक डा. लुना अर्याल, कालिका पुस्तकालय अध्यक्ष श्याम प्रसाद अर्याल, प्रमुख अतिथि माननीय राजु थापा लगायतले फाउन्डेसनले गरेको सामाजिक कार्यहरू प्रती धन्यवाद व्यक्त गर्नुभएको थियो ।