खुमा अर्याल फाउन्डेसनले  विशेषज्ञसहितको नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने

मङि्सर ०३, २०८१     नारायणप्रसाद कोइराला


खुमा अर्याल फाउन्डेसनले भीरकोट नगरपालिकामा निशुल्क बृहत् स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। फाउन्डेसनले  आफ्नो छैटौं स्थापना दिवसको अवसरमा यही मङ्सिर ५ गते बुधबार  कालिका बहुमुखी क्याम्पस, बलमाटामा विशेषज्ञ सहितको स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।

स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविरका साथसाथै खुल्ला रक्तदान र यु १९ विश्वकप छनोटमा परेका स्याङ्जाका  खेलाडीहरूलाई समेत सम्मान गरिने फाउन्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिनुभयो।

नेपाल रेडक्रस सोसाइटी स्याङ्जा र गण्डकी मेडिकल कलेजको सहकार्यमा खुल्ला रक्तदान तथा विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिनुभयो।

शिविरमा जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा, नाक ,कान , घाँटी रोग सेवा, स्त्री रोग सेवा, हाड, जोर्नी तथा नसा रोग सेवा, दन्त रोग परीक्षण, पेट, छाती तथा मुटु रोग सेवा , बालरोग सेवा,प्रयोगशाला, इसिजी, भिडियो एक्सरे सेवा र फार्मेसी सेवा उपलब्ध हुने फाउन्डेसनले जनाएको छ। फाउन्डेसनका अध्यक्ष शर्माका अनुसार  शिविरमा करिब ३५ जना विशेषज्ञ र स्वास्थ्यकर्मीको समुहले स्वास्थ्य सेवा प्रदान गर्नेछन्।

फाउन्डेसनले अर्जुनचौपारी गाउँपालिका, भीरकोट नगरपालिका र पुतलीबजार नगरपालिकाका स्थानीयहरूलाई रक्तदान र स्वास्थ्य शिविर कार्यक्रममा सहभागी भइ स्वास्थ्यलाभ गर्न अनुरोध गरेको छ।बिरामीको सुविधालाई मध्यनजर गरेर अर्जुनचौपारी, करेन्डाँडा र बयरघारीदेखी निशुल्क यातायात सुविधा समेत उपलब्ध गराइने फाउन्डेसनका सचिव ध्रुब शर्माले जानकारी दिनुभयो।