क्षत्री समाजको बहुउद्देश्यीय भवन शिलन्यास
भीरकोट नगरपालिकामा बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ। क्षत्री समाज नेपाल , भीरकोट नगर कार्यसमितिले वडा नं १ बयरघारीमा निर्माण गर्न लागेको सो भवनको शिलान्यास नगर प्रमुख गोविन्द कुमार कर्माचार्य र समाजका अध्यक्ष क्याप्टेन मीन बहादुर के.सी. ले संयुक्त रूपमा गर्नुभएको हो।
३ करोड लागत अनुमान गरिएको सो भवन ७ हजार १ सय ६५ बर्गफिट क्षेत्रफलमा बन्ने छ। ३ तलाको संरचनामा समेटिने भवनको सभाहलमा कम्तिमा पनि ६ सय जना अट्ने समाजका अध्यक्ष क्याप्टेन मीन बहादुर के.सी. ले स्मार्ट अखबारलाई जानकारी दिनुभयो। क्षत्री समाजको अगुवाइमा निर्माण गरिने भवन समुदायका सबै जातजातिले प्रयोग गर्न पाउने अध्यक्ष के.सी. ले बताउनुभयो।
भवन निर्माणका लागि करिब ३ करोड लागत अनुमान गरिएकाले समाजले सबै शुभेच्छुकहरूसँग आर्थिक सहयोगका लागि अपिल गरेको छ। सोमबार आयोजित शिलान्यास समारोहमा उपस्थित क्षेत्री समाजका सदस्यहरू र शुभेच्छुकहरूबाट करिब १२ लाख रूपैयाँ रकम संकलन भएको समाजका सचिव लेख बहादुर के.सी. (किरण) ले जानकारी दिनुभयो। बहुउद्देश्यीय भवन निर्माणका लागि भीरकोट नगरपालिकाले पनि १० लाख रूपैयाँ रकम विनियोजन गरेको छ।