भीरकोट जेसिसद्वारा स्टेशनरी सामग्री वितरण
भीरकोट जेसिसले बालवर्ष आधारभूत विद्यालय, तिलाहारमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ। विद्यार्थीसँग जेसिज कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, कलम, सार्पनर, इरेजर, झोला, क्रीकेट बल, ब्याट, फूटबल र खानेपानीको जार वितरण गरिएको भीरकोट जेसिजका अध्यक्ष भरत खड्काले बताउनुभयो।
जेसिसका पदाधिकारीहरूले मंगलबार विद्यालयमै पुगेर स्टेसनरी सामाग्री वितरण गरेका हुन्। अध्यक्ष खड्काका अनुसार विद्यार्थीहरूलाई ३० थान झोला, करिब १० दर्जन कापी, २ सेट क्रीकेट बल ब्याट, २ थान फूटबल, १ सय थान पेन्सिल, इरेजर, १ सय ५० थान सिसाकलम वितरण गरिएको हो।
स्टेशनरी कार्यक्रममा बोल्दै भीरकोट जेसिसका अध्यक्ष भरत खड्काले जेसिस सेवाभाव भएका युवाहरुको संगठन भएकाले समाजको दु:खसुखमा सधैँ साथ रहेको जानकारी दिनुभयो।
विद्यालयका प्रधानाध्यापक मेघनाथ पौडेलले स्टेशनरी सामग्री बुझ्दै दलित र विपन्न आय भएका विद्यार्थी अध्ययन गर्ने विद्यालयमै आई सहयोग गरेकामा जेसिसलाई विद्यालयको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो।
भीरकोट जेसिसका पदाधिकारीहरु विजय गुरुङ, सुशील अर्याल, शिव खनाल, जगदिश अर्याल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरूले समेत सामुहिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।