स्याङ्जामा एक वर्षमा १४ वटा जबर्जस्ती करणीका घटना, अधिकांश पीडित बालिका
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा जबर्जस्ती करणीसम्बन्धी सातवटा मुद्दा दर्ता भएका हुन् । सोही घटना सम्बन्धीमा सातवटा मुद्दा बालयौन दुर्व्यवहारसम्बन्धी रहेका छन् ।
जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा २६ वटा जबर्जस्तीकरणी घटनामध्ये दुईवटा बालयौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता भएका थिए । आ.व. २०७८/०७९ को एक वर्षको अवधिमा २१ वटा जबर्जस्तीकरणी घटनामध्ये तीनवटा बालयौन दुर्व्यवहारसम्बन्धी मुद्दा परेका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार जबर्जस्ती करणीसम्बन्धी घटनामा अधिकांश पीडित १८ वर्षभन्दा कम उमेर समूहका बालिका रहेका छन् ।
धेरैजसो बलात्कारको घटना यौन शिक्षाको कमी र नकारात्मक सोचको विकासले बढ्ने गरेको प्रहरी अनुसन्धानले देखाएको डिएसपी रानाले बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलात्कारका घटना हुने गरेको जानकारी दिनुभयो ।
स्याङ्जामा जबर्जस्ती करणी मुद्दा दर्ता भए मध्येका अधिकांश घटना बालबालिका माथि भएका छन् । यस्ता घटनाले बालिकाहरु असुरक्षित बन्दै गएका छन् ।