राजनीतिक संरक्षणको पराकाष्ठा : गल्ती गर्नेलाई निरन्तर माफी
गत जेठ १९ गते स्याङ्जाको भीरकोट नगरपालिकाका कर्मचारी कृष्ण अर्यालले मादक पदार्थको सेवन गरेर स्कुटर चलाउँदा दुर्घटना भएको थियो । दहथुम प्रहरी चौकी नजिकै भएको दुर्घटनामा भीरकोट नगरपालिकाको स्कुटर ग १ब ११८६ र निजी सवारी लु ६४ प ७४५९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए ।
नगरपालिकाको फोहरमैला व्यवस्थापन एवं सरसफाइ केन्द्रमा कार्यरत र भीरकोट पार्कको व्यवस्थापनको जिम्मा समेत पाएका उनले जेठ १९ गते शनिवार नगरपालिकाका विशिष्ट व्यक्तिहरूसँग भीरकोट पार्कमा बसेर मादक पदार्थ सेवन गरेर फर्कने क्रममा उनको पालिकाको मुख्य बजार केन्द्र बयरघारीमा दुर्घटनामा परेको थियो ।
दुर्घटनापछि स्थानीयले दहथुम प्रहरी कार्यालयमा खबर गरेपछि स्थानीय प्रहरीले दुबै सवारी साधन प्रहरी नियन्त्रणमा लिएको थियो भने कर्मचारी आर्याललाई भने उपचारको लागि भनेर अस्पतालमा लगियो ।
सवारी अनुमतिपत्र बिना सरकारी गाडी
दुर्घटनामा परेको अर्यालसँग सवारी साधन अनुमतिपत्र समेत नभएको दुर्घटना पछि प्रहरीको अनुसन्धानले खुलाएको थियो । कानुनी रुपमा हेर्दा पालिकाको कर्मचारीलाई बिना अनुमतिपत्र सरकारी सवारीसाधन हाक्न दिने सम्बन्धमा पालिका बढी जिम्मेवार हुनुपर्ने देखिन्छ । उसो नेपाल सरकारको निर्णय अनुसार शनिवार वा सार्वजनिक विदाको दिनमा कुनैपनि सरकारी सवारी साधनको प्रयोग गर्न पाइदैन्। तर स्थानीय सरकारकै कर्मचारीले मादक पर्दाथ सेवन गरेर सवारी चलाउँदा भीरकोट नगरपालिका नै मौन देखिएको छ ।
सोही विषयमा केही दिनअघि पालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गानालाई सवारी अनुमतिपत्र नभएका व्यक्तिलाई किन सरकारी स्कटुर दियो भन्ने विषयमा उनले आफूहरुलाई पहिला त्यो विषयमा जानकारी नभएको बताएका थिए ।
घटनामा घाइते भएका अर्याल भीरकोट नगर अस्पतालमा उपचार गरेपछि जागिरमा फर्कीसकेका छन् । सरकारी सवारी साधन दुर्घटना भएपछि स्थानीय सरकारले सवारी चालक अनुमतिपत्र नै नभएका कर्मचारीलाई सवारी साधन उपलब्ध गराएको खुलेको थियो । दुर्घटनाका विषयमा कुरा गर्दै नगर प्रवक्ता दिपेन्द्र के.सी.ले कर्मचारीले मादक पदार्थ सेवन गरेको पुष्टि भएको हुनाले कानुन बमोजिम कारबाही हुने बताए पनि कानुन बमोजिम केही पनि कारबाही गरेको पाइएन ।
यौन दुर्व्यबहारमा पनि मुछिएका थिए अर्याल
नगरपालिकाको सरसफाइ केन्द्र तथा पार्क व्यवस्थापनको जिम्मा पाइसकेपछि गत वर्षमात्रै उनले आफ्नै मातहतकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको पुष्टि भएको थियो । तर पालिकाले आफ्नो कर्मचारीको बदनाम हुन्छ भन्ने हेतुले संरक्षण गरेको स्रोतले जनाएको छ । पटकपटक यस्ता गल्ती गर्दा समेत नातावाद र कृपावादमा रहेर पालिकाले अर्यालको बचाउ गर्दै आएको छ । मा.प.से. गराएर सरकारी सवारीनै दुर्घटना गराएका अर्याललाई त्यतिबेला पनि सहजै जागिरमा राख्नुले नै पुष्टि गर्छ कि पालिकाले उनलाई करबाही गर्नबाट डराएको र नातावादमा लम्किएको पाइन्छ ।
के के भयो कारबाही
राती ८ः३० बजे भएको दुर्घटनामा सरकारी स्कुटर चालक अर्याल करार कर्मचारी भएका कारण उनीलाई मोटरसाइकल चलाउन नदिने गरि उनलाई कारबाही गरेको पालिकाले जनाएको छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृत ढुङ्गानाले उनी करार कर्मचारी भएकाले अबबाट त्यस्तो गल्ती गरे कामबाट निकाल्ने चेतावनी समेत दिइएको बताए । उनले अर्याल अहिले आफ्नो काममा हिडेर जाने आउने काम गरेको र दुर्घटना हुदाँ अर्को पक्षलाई दिनु पर्ने पैसा पनि दिएको बताए। तर अर्यालका कारण दुर्घटना परेको स्कुटरको खर्च भने पालिकाले गर्ने भएको छ । पालिका प्रमुख प्रशासकिय अधिकृत ढुङ्गनाले भने, “दुर्घटना भएको स्कुटर अहिले पालिकाको पार्किङमा राखेको छ। साउन लागेपछि बनाउने भनेर ।’’
ढुङ्गानाले निजामिति ऐनमा पहिलो पटक गल्ती गरेकाले उनलाई केही गर्न नमिल्ने भएकाले अन्य कारबाही नगरेको बताए । तर उनले त्यतिबेला सफाइ कर्मचारीलाई गरेको दुर्ववहार समेतको हिसाब किताब नराखेको पाइएको छ ।
यता जिल्ला ट्राफिक कार्यायल स्याङ्जाका अनुसार अर्याललाई मापेस र सवारी चालक अनुमति पत्र नभएकाले हजार-हजार गरेर दुई हजार रुपैयाँ जरिवाना गराएको छ। प्रहरी स्रोतका अनुसार अर्को ठोकिएका मोटरसाइकल चालकलाई करिब ६० हजार रुपैँया क्षतिपूर्ति उपलब्ध गराइएको छ ।