सिरुबारी : ग्रामीण पर्यटनको गौरव
बौद्ध धर्मसँग सम्बन्धित पञ्चरङ्गी झण्डाहरू फरफराइरहने परम्परागत घरहरूको बाहुल्यता भएको सफा, सुन्दर र आकर्षक गाउँ हो सिरूबारी।स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं १ मा पर्ने सिरुबारी गाउँ समुन्द्र सतहबाट १ हजार ६ सय १० मिटरको उचाइमा अवस्थित छ। जिल्ला सदरमुकाम स्याङ्जा बजारबाट उत्तर पश्चिममा पर्ने गाउँमा गुरुङ जातिको बसोबास छ ।
नेपालको ग्रामीण पर्यटन र ‘सिरुबारी’ पर्यायवाची बनेका छन्। देशको मात्र नभै दक्षिण यसियाकै पहिलो होमस्टेको पहिचान बनाएको यसले देश विदेशमा समेत प्रसिद्धि कमाएको छ । नेपालमा सामुदायिक होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास वि.सं. २०५४ मा सिरुबारीबाटै शुभारम्भ भएको थियो ।
नेपालको ग्रामीण पर्यटनका जनदाता क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवम् अगुवाइमा वि.सं. २०५४ कात्तिक २३ गतेदेखि सिरुबारी सामुदायिक होमस्टेमा पाहुना राख्न सुरु गरिएको थियो। ग्रामिण पर्यटनमा पुर्याएको योगदानको सम्मान गर्दै प्यासिफिक एशिया ट्राभल एशोसियसनले सिरूबारीलाई पाटा गोल्ड अवार्ड २००१’ बाट सम्मानित गरेको थियो। ग्रामीण पर्यटनको करिब ३ दशकको अनुभव बोकेको सिरूबारी दिगो ग्रामीण पर्यटनको सर्वोत्कृष्ट पाठशाला हो।
प्रातकालिन समयमै सुर्योदयको साक्षात्कार गर्न पाइने सिरूबारीमा ४५ घर छन्। फोहोरमैलाको समुचित व्यवस्थापन गरिएको यो पर्यटकीय गाउँमा प्रवेश गरेपछि कहिकतै धुलो हिलो टेक्नुपर्दैन। कारण प्रवेशमार्ग देखि गाउँभरीका बाटोघाटो र घर आँगनमा ढुङ्गा छापिएको छ। प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, ग्रामीण जीवनशैली र गाउँलेको आत्मीय व्यवहार एवम् मिठो खानाले सबैलाई होमस्टेको खुशी दिलाउँछ। त्यसैले सिरुबारीमा पुग्ने जोकोही मनभरी खुशी, सकारात्मक उर्जा र मोबाइल र क्यामराभरी सयौं फोटाहरू बोकेर फर्कन्छ। साच्चिकै भन्दा सिरूबारी नेपालको ग्रामीण पर्यटनको सम्भावना र समृद्धि सिकाउने विश्वविद्यालय नै हो भन्दा फरक पर्दैन।
सिरुबारी वरपर पनि महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरू छन् । ओलिवास डाँडा, डहरे देउराली, थुम्म्रो जुरो, थाप्ले सिरुबारी नजिकै रहेका पर्यटकीय गन्तव्यहरू हुन्।साथै गुरुङ संस्कृति, सामुदायिक जङ्गल, गुम्बा, सङ्ग्रहालयले पनि पर्यटकलाई लोभ्याउँछन्।
सिरुबारी ग्रामीण पर्यटनको एक नमुना पाठशाला बनेको छ। यहाँबाट सिकेर स्याङ्जा जिल्लामा मात्रै नभै नेपालका धेरै ठाउँमा ग्रामीण पर्यटनको एवं होमस्टेको अभ्यास भइरहेको छ। ठाउँठाउँमा सामुदायिक होमस्टे खुलेका छन् । होमस्टे संचालन एवं व्यवस्थापनको प्रशिक्षण दिन सिरूबारी होमस्टेका संयोजक एवं होमस्टे एसोसिएसन अफ नेपालका उपाध्यक्ष उर्मीला गुरुङ आँफै जानुहुन्छ।
सिरूबारीको ग्रामीण पर्यटन प्रबर्धनका लागि सिरुबारीमा विकासका आधुनिक पूर्वाधारहरू निर्माण भैसकेका छन्। स्याङ्जा सदरमुकाम, नागडाँडा र हेलु -अर्जुनचौपारीबाट सडक सञ्जाल जोडिएको छ। घरघरमा सफा खानेपानीका धारा छन् । बिजुली, इन्टरनेट र प्राथमिक अस्पतालको सुविधा छ ।
सिरुबारी विशेषतः भारतीय र बेलायती सेनाको जागिरबाट निवृत्त भएकाहरूको गाउँ हो। गाउँको संस्कृति संरक्षण एवम् विकासमा गाउँलेहरू सक्रिय छन् । पर्यटनले लोकसंस्कृति संरक्षण, गाउँको सरसफाइ र आय आर्जनमा योगदान पुऱ्याएको छ। २७ वर्षसम्म निरन्तर आन्तरिक र बाह्य पर्यटकको सेवामा समर्पित यो गाउँ ग्रामीण पर्यटनको गौरवपूर्ण एवं जिउँदो इतिहास बोकेको ठाउँ हो।
गाउँलेको मुख्य पेसा पर्यटन, कृषि र वैदेशिक रोजगार हो। गाउँमा खेतीपाती गरेको, भैसी दुहेको, कुखुरा पालन गरेको, डोकोनाम्लो बुनेको र जाँतो घुमाएका दृश्य देखिन्छन् । यस्तै सरसफाइ, सामाजिक विकास, सामुदायिक वन आदिको अध्ययन एवम् अवलोकन गर्न सकिन्छ । भाषा, कला, संस्कृति, परम्परा र रहनसहनका हिसाबले सिरुबारी समृद्ध छ। गाउँलेहरू बुद्ध धर्म मान्छन् । उनीहरू हरेक वर्ष पुस १५ मा तमु ल्होसार मनाउँछन् । त्यस्तै बुद्ध पूर्णिमा, साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ती, उधौली र उभौली, श्रीपञ्चमी, होली, ट्होंटे पर्व र दसैं- तिहार धुमधामसँग मनाउँछन् ।
सिरुबारीको पर्यटनमा समावेशीकरणको उदाहरणीय अभ्यास छ। गुरूङ समुदायको बिचमा ब्राह्मण समुदायका ३ जनाले होमस्टे संचालन गर्नुभएको छ। गाउँमा अतिथि सत्कारको उत्कृष्ट अभ्यास छ। छिमेकी गाउँ धारुका परियार समुदायलाई अतिथी सत्कारको जिम्मा दिइएको छ। पर्यटन सुरु भएदेखि नै पाहुनाको स्वागतमा उनीहरूले पन्चै बाजा बजाउँदै आएका छन् । पर्यटकलाई सिरूवारीको प्रवेशद्वारमा पञ्चेबाजा र फूलमालले स्वागत गरिन्छ। साँझमा पर्यटकको स्वागतमा हुने मौलिक साङ्गितिक प्रस्तुतिमा दलित समुदायलाई उचित स्थान दिइएको छ।होमस्टेको सांस्कृतिक प्याकेजमा पाहुनालाई नाचगान गराइन्छ । साँझ गुम्बाको आँगनमा सांस्कृतिक कार्यक्रम गरिन्छ । गुरुङ र नेपाली भाषाको गीत गाइन्छ । पाहुनालाई सोरठी, झोरा, कौरा, ख्याली, सालैजो भदौरे भाका र थाली नाचले मनोरञ्जन प्रदान गरिन्छ।
सिरुबारीमा होटल तथा रेस्टुराँ छैनन, सामुदायिक होमस्टे सुविधा छ। यहाँका २२ घरमा एकै पटक अधिकतम् १ सय ५०जना पर्यटक बास बस्न सक्छन् । पाहुनाका लागि व्यवस्थित कोठा छुट्टयाइएका छन्, जहाँ आरामदायी पलङ, सेतो तन्ना, सफा सिरक, डसना, ऐना, टावललगायत सुविधा पाइन्छ । साथमा तातो र चिसो’ पानी सहितका बाथरुम र चर्पी पनि छन् । फ्रि वाईफाई, सोलार बिजुली, सि.सि. क्यामेराको पनि व्यवस्था गरिएको छ।
सिरुबारी गाउँको शिरमा रहेका दुईटा डाँडाहरू डहरे देउराली (२,३०० मिटर) र थुम्रो जुरो (२,३६४ मिटर) बाट हिमालको मनमोहक दृश्यहरू देखिन्छ, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे देखि लमजुङ हिमालसम्म । सूर्योदय र सूर्यास्तको दृश्य पनि देख्न पाइने यी ठाउँहरूमा पुग्न गाउँबाट करिब दुई घन्टा पदयात्रा गर्नुपर्दछ।
पर्यटकीय राजधानी पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जाको नाउडाँडा हुँदै सिरूबारी पुग्न सकिन्छ। पोखराको पृथ्वीचोकबाट नाउडाँडा हुँदै सिरुबारीसम्म सार्वजनिक बस तथा जिप चल्छन् । मोटर बाइकमा पनि जान सकिन्छ ।
नाउडाँडा-सेती दोभान-बेजाङ-सिरुबारी सडकबाट १९ कि.मि. यात्रा पश्चात् सिरूबारी पुग्न सकिन्छ। यसैगरी नाउडाँडा बाडखोला सतौं-दरौं -सिरुबारी सडकबाट ३५ कि.मि. यात्रा गरेपछि सिरूबारी पुगिन्छ। नाउडाँडा-जुग्ले-कार्कीनेटा- सिरुबारी सडक अलिक घुमाउरो छ। यो सडक खण्ड
३८ कि.मि. लामो छ। हेलु- अर्जुनचौपारी- सिरुबारी सडक खण्डमा १८ कि.मि. यात्रा गरेपछि ग्रामीण पर्यटनको उद्गम सिरुबारी पुग्न सकिन्छ।