शुभलक्ष्मी सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न
स्याङ्जा जिल्ला भरी कार्यक्षेत्र रहेको भीरकोटको प्रतिष्ठित सहकारी शुभलक्ष्मी बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। “समृद्धिका लागि सहकार्य” भन्ने मूल नाराका वि.सं. २०७० साल असार ३ गते स्थापना भएको सहकारीले उद्यमशीलता र स्वरोजगारलाई प्राथमिकता दिदै आएको छ।
भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शेयर सदस्य, जनप्रतिनिधि, सहकारीकर्मी, समाजसेवी र राजनीतिज्ञहरूको समेत सहभागीता रहेको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख कर्माचार्यले शुभलक्ष्मी सहकारी भीरकोटमा लोकप्रिय र उत्कृष्ट रहेकोमा खुशी व्यक्त गर्दै सहकारीका सम्पूर्ण मुलभुत सिद्धान्तहरूको अवलम्बन गर्न सुझाव दिनुभएको थियो। उहाँले सहकारीको संचालक समिती र शेयर सदस्य दुबै जिम्मेवार भएमा सहकारी सफल हुने बताउनुभयो।
संस्थाका अध्यक्ष भक्त बहादुर के.सी. ले शुभलक्ष्मी सहकारीलाई समुदायको पहिलो रोजाईको अब्बल सहकारी बनाउन प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले शेयर सदस्यहरूको हित र सामाजिक उत्तरदायित्व दुबैलाई प्राथमिकतामा राखेको प्रष्ट पार्नुभएको थियो।
जिल्ला सहकारी संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदनका आधारमा हेर्दा शुभलक्ष्मी सहकारी बलियो र पारदर्शी भएको धारणा राख्नुभएको थियो। सहकारी अभियानलाई बलियो बनाउन नगरपालिकाले सबै सहकारीहरूलाई राम्रोसँग नियमन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।
डिभिजन सहकारी कार्यालय, स्याङ्जा र जिल्ला सहकारी संघबाट पटकपटक सम्मानित भएको भीरकोटको लोकप्रिय सहकारीमा शेयर सदस्यको संख्या २ हजार ४३ रहेको छ। १ करोड ९८ लाख ६२ हजार ८ सय शेयर पूँजी रहेको सहकारीले करिब २८ करोड ५८ लाख बराबरको आर्थिक कारोबार गर्दै आएको छ। सहकारीले आर्थिक वर्ष २०८०/८१ मा करिब ९० लाख रूपैयाँ मुनाफा आर्जन गरेको छ। संस्थाको प्रधान कार्यालय बयरघारीमा रहेको छ।
संस्थाका अध्यक्ष भक्त बहादुर के.सी. को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक लेख बहादुर के.सी. (किरण ) ले गर्नुभएको थियो। कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य शेषकान्त खनालले प्रस्तुत गर्नुभएको थियो। वार्षिक साधारण सभामा उत्कृष्ट कर्मचारी पूजा घर्ती क्षेत्री , जेष्ठ नागरिक सदस्य मीन बहादुर खत्री., उत्कृष्ट ऋणी रण बहादुर खत्री, उत्कृष्ट कृषक कमला गोदार, नियमित बचतकर्ता भविश्वर गुरुङ र उत्कृष्ट लघुवित्त समुह मुलपानी महिला स्वालम्बन केन्द्र, मुलपानीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा लायन्स क्लब अफ भीरकोटका अध्यक्ष ढाकाराम खनाल, नेकपा एमाले भीरकोटका अध्यक्ष हर्क बहादुर गरूङ, नेपाली काँग्रेसका नगर सभापति याम प्रसाद अधिकारी, वडा अध्यक्ष दिपेन्द्र के.सी. , निवर्तमान नगर प्रमुख छायाराम खनाल, राष्ट्रिय सहकारी बैंक, वालिङ शाखा प्रमुख टिकाराम अधिकारी र जिल्ला सहकारी संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, शिक्षा उप समिती सदस्य के.सी.ले लगायतले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बालज्योती मा.वि. का विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए।
साधारणसभाले अध्यक्ष भक्तबहादुर के.सी., लेखासमिती समिती सदस्य शेषकान्त खनाल र व्यवस्थापक लेख बहादुर के.सी. ले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।