शुभलक्ष्मी सहकारी संस्था लि. द्वारा न्यानो कपडा वितरण

माघ १६, २०७९


स्मार्ट संवाददाता,भीरकोट
१६ माघ २०७९

स्याङ्जाको भीरकोट नगरपालिका, बयरघारीमा अवस्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले दहथुम माध्यामिक विद्यालयमा न्यानो कपडा वितरण गरेको छ। भीरकोट २ मा रहेको जिल्लाकै पुरानो सरकारी विद्यालय दहथुम मा.वि.मा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरु मध्य २० जना अति विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको संस्थाका व्यवस्थापक लेखबहादुर के.सी.(किरण) ले जानकारी दिए।

विद्यालयको अनुरोध र सहकारी संस्थाको आफ्नो नियमित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १६ गते मंगलबारका दिन विद्यार्थीहरुलाई जनही १ सेट न्यानो कपडा वितरण गरिएको हो। सहकारी संस्थाका उपाध्यक्ष प्रकाशमान सिहं थापा, संचालक समितिका सदस्य राज कुमार कर्माचार्य, जिवलाल बसेल र पुष्पा अधिकारी, व्यवस्थापक लेख बहादुर के सी(किरण)ले विद्यालयमै उपस्थित भइ न्यानो कपडा वितरण गरेका हुन्।

विद्यालयका नवनियुक्त प्रधानध्यापक तोयानाथ कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक शोभाकान्त पौडेलले गरेका थिए। सो कार्यक्रममा सहकारी संस्थाका व्यवस्थापक लेख बहादुर केसीले शुभलक्ष्मी सहकारी संस्थाले सामाजिक र आर्थिक उत्तरदायित्व अन्तर्गत आफ्ना सदस्य र समुदायको समृद्दिको लागि काम गरिरहेको बताए। उनले आगामी दिनहरुमा पनि समाजको आवश्यकता अनुसार हरेका गतिविधीहरुमा सहकारीलाई जोड्न खोजीरहेको बताए। संस्थाका उपाध्यक्ष प्रकाशमान सिंह थापाले सहकारी संस्थाले  विगत लामो समय देखि आफ्ना कार्यक्षेत्र भित्रका विभिन्न सामुदायिक विद्यालयका अति विपन्न विद्यार्थी लक्षित कार्यक्रमहरू संचालन गर्दै आईरहेको जानकारी दिए। उनले दहथुम मा.वि.मा सहयोग गर्न पाउदाँ खुसी र गर्ववोध भएको र आगामी दिनहरुमा शुभलक्ष्मी सहकारी संस्था लि. र दहथुम मा.वि. बीच घनीष्ट सम्बन्ध राखी कार्य गर्न चाहेको बताएका थिए । सोही विद्यालयका पुर्व प्रधानाध्यापक समेत रहेका थापाले विद्यार्थीहरुलाई जीवनमा अनुशासन र सिकाईको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरुको सफल भविष्यको कामना समेत गरेका थिए।

विद्यालयका नवनियुक्त प्रधानाध्यापक तोयानाथ कोइरालाले सहकारी संस्थाले जाडोको समयमा न्यानो कपडा वितरण गरेकोमा विशेष धन्यवाद दिएका थिए।