दभुङ ठाटी मा.वि. को ७० औं वार्षिकोत्सब सम्पन्न

पुष २७, २०८१     स्मार्ट संवाददाता


भीरकोट नगरपालिका वडा नं ४ दभुङ ठाटीमा अवस्थित दभुङ ठाटी माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सब सम्पन्न भएको छ।   वार्षिकोत्सबको अवसरमा विभिन्न अक्षय कोषको छात्रवृत्ति वितरणका साथै  विद्यालयमा आयोजित अतिरिक्त क्रियाकलाप र  खेलकुद प्रतियोगिताका विजेता, एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। एसइइमा उत्कृष्ट नतिजा ल्याउनुभएका शुसान्त के.सी. , विद्या के.सी. र भूमिका काफ्लेलाई पुरस्कृत गरिएको हो।

यसैगरी विषयगत नतिजा उत्कृष्ट भएका शिक्षकहरूलाई समेत पुरस्कृत गरिएको थियो। गणित शिक्षक प्रवीण काफ्ले, विज्ञान शिक्षक दिनेश ढुङ्गाना, सामाजिक / नेपाली शिक्षक सुवास गहतराज, अंग्रेजी शिक्षक हिमलाल पौडेल र अर्थशास्त्र शिक्षक रूक्मा काफ्लेलाई पुरस्कृत गरिएको हो।

वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले दभुङ ठाटी मा.वि. को एसइइको  नतिजा  पालिकामै उत्कृष्ट रहेकोमा खुशी व्यक्त गर्नुभयो। सबै विद्यालयको एसइइको शैक्षिक नतिजामा सुधार ल्याउन नगरपालिकाले यो शैक्षिक सत्रदेखि कक्षा ३,५ र ८ को नगरस्तरीय परीक्षा संचालन गरिने बताउनुभयो। उहाँले भन्नुभयो ,” एकैचोटि ९ ,१० मा पुगेपछि राम्रो नतिजा खोज्दा वा विद्यार्थी फेल हुँदा अप्ठ्यारो पर्‍यो। जसरी जग बलियो हुँदा भवन बलियो हुन्छ त्यसरी नै कक्षा ३,५ र ८ मा नगरस्तरीय परीक्षा संचालन गरेर विद्यार्थीको वास्तविक  क्षमता मूल्यांकन र सुधारमा हामीले ध्यान दिन लागेका हौं। अब ३,५ र ८ मा फेल हुने विद्यार्थीको कक्षोन्नती हुँदैन्।”

वाषिर्कोत्सवको अवसर पारेर विद्यालयमा सरस्वती मन्दिर निर्माण अभियानको सुभारम्भ गरिएको छ। पूर्व विद्यार्थीहरू धर्मराज ढुंगाना , टिएन रेग्मी, जगत आले, अमृत रेग्मी, सनु काफ्ले र सुवास गहतराजले पूर्व विद्यार्थीहरूलाई एकीकृत गरि मन्दिर निर्माण अभियान थाल्नु भएको हो। एक वर्षभित्र मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको छ।

कक्षा ७ का छात्र सुशान्त गहतराज र कक्षा ८ का छात्रा गृष्मा के.सी. ले संचालन गरेको कार्यक्रममा प्रधानाध्यापक सुवास गहतराजले विद्यालयको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वार्षिक र दैनिक पाठ्ययोजना अनुसार शिक्षण सिकाइ क्रियाकलाप गरिएकाले राम्रो नतिजा आएको प्रधानाध्यापक गहतराजले बताउनुभयो। कार्यक्रममा  जनप्रतिनिधिहरू रत्नप्रकाश श्रेष्ठ , श्यामकाजी अधिकारी, रूद्र ढुंगाना , पार्वती बस्नेत लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।