चितवनमा साभ नेपालको अभिभावक शिक्षा तथा तनाव व्यवस्थापन तालिम 

पुष २३, २०८१     स्मार्ट संवाददाता


साभ नेपाल, पोखराले चितवनमा अभिभावक शिक्षा तथा तनाव व्यवस्थापन तालिम प्रदान गरेको छ। चितवनको खैरहनी नगरपालिका वडा नम्बर ८ को आयोजना र साभ नेपाल पोखराको सहजीकरणमा अभिभावक शिक्षा कार्यक्रम संचालन गरिएको हो ।

 नगर प्रमुख शशि खनियाको प्रमुख आतिथ्यता र  वडा नम्बर आठका अध्यक्ष शङ्कर कँडेलको अध्यक्षतामा सम्पन्न भएको अभिभावक शिक्षा कार्यक्रममा करिब ३ सय ६० जनाको सहभागिता रहेको थियो।  कार्यक्रममा  नगर प्रमुख खनियाले अभिभावक शिक्षाको महत्वका बारे प्रकास पार्नुभएको थियो । नगरले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेको र अन्य धेरै विकासका काम सुरु गरेको पनि उहाँले  बताउनु भयो ।

 वडाको रेडक्रस भवनमा  साभ नेपालका अध्यक्ष , मोटिभेटर, संस्कृतिविद् डा. तुलसी राम खनालले करिब ३ सत्रमा प्रशिक्षण  गर्नु भएको थियो  । प्रथम सत्रमा बालबालिकालाई कसरी हुर्काउने र पढाउने दोश्रो सत्रमा किशोर अवस्थाका बालबालिकाको मनोविज्ञान , तेस्रो सत्रमा परिवार, समाज र देशको उच्च समुन्नत विकास,  मानवीय तथा भौतिक विकास तथा असल नागरिक निर्माणमा अभिभावकको भुमिका  उच्च हुने हुनाले असल अभिभावकले सिक्नुपर्ने र जान्नु पर्ने आधारभुत तथा व्यवहारिक कुराहरु के के हुन भन्ने बारेमा प्रष्ट पार्नु भएको थियो ।

साथै बालबालिका देशको भविष्यको कर्णधार प्रष्ट पार्दै उहाँले  बालबालिकाको सिकाइ र शिक्षाको पहिलो शिक्षक अभिभावक र पहिलो पाठशाला घर हुने अभिभावक शिक्षा अत्यावश्यक रहेको बताउनुभयो। कार्यक्रमको चौथो सत्रमा साभ नेपालका सदस्य तथा दिब्याश्रम हिलिङ्ग एन्ड रिसर्च सेन्टरका फाउन्डर हिलर पास्टलाइफ रिग्रेसन थेरापिस्ट  मुक्त खवासले तनाव  व्यवस्थापनको प्रयोगात्मक अभ्यास र रिल्याक्सेसन, साथै मास हिलिङ्ग गराउनु भएको थियो ।

 

साभ नेपालले विद्यालयहरू, सामाजिक संस्थाहरू ,  स्थानीय तहहरू र वित्तिय संस्थाहरूमा आवश्यकता अनुसार विभिन्न तालिम र प्रशिक्षण संचालन गरिरहेको छ। साभ नेपालले अभिभावकका लागि अभिभावक शिक्षा,  युवा युवती सबैका लागि सकारात्मक सोँचको शक्ति  र उद्यमशीलता तालिम , शिक्षक, जनप्रतिनिधि तथा वित्तिय संस्थाका लागि  नेतृत्व विकास तालिम  ,उत्तरदायित्व बोध तथा सकारात्मक सोच तालिम,  विद्यार्थीका लागि स्मार्ट अध्ययन कला , महिलाका लागि नारी जागरण / महिला सशक्तिकरण तालिम अध्यात्मप्रेमीहरूका लागि अध्यात्म जागरण /प्राण ऊर्जा साधना, शिक्षकहरूका लागि अध्यापन कला र कक्षाकोठा व्य्वस्थापन र मानसिक समस्या र दुर्ब्यसनमा  पर्न लागेका युवा तथा किशोरका लागि मनोपरामर्श , ग्रामीण पर्यटन प्रवर्धनका  लागि होमस्टे व्यवस्थापन तालिम संचालन गर्दै आएको साभ नेपालका अध्यक्ष डा. खनालले जानकारी दिनुभयो।