भूकम्प प्रतिरोधी संरचनाको आवश्यकता

माघ ०२, २०८१     सम्पादकीय


नेपाल भौगोलिक रूपमा भूकम्पीय जोखिमको क्षेत्रमा पर्ने मुलुक हो। २०७२ सालको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको यथार्थ सबैको स्मरणमा छ। यस्ता विपत्तिहरूबाट पाठ सिक्दै भूकम्प प्रतिरोधी संरचना निर्माणलाई प्राथमिकतामा राख्न अब ढिलो गर्न हुँदैन।

देशभर नक्सा पास नगरी भवन तथा संरचना निर्माण गर्ने प्रवृत्ति अझै जारी छ। यसले भूकम्पीय जोखिमलाई अझ भयावह बनाइरहेको छ। यस्तो प्रवृत्तिको अन्त्यका लागि स्थानीय सरकारहरूले कडा कदम उठाउनुपर्छ। नक्सा पास नभएका घर तथा संरचनाहरूमा बिजुली, पानीजस्ता सुविधा उपलब्ध गराउने सिफारिस दिन नहुने व्यवस्था गर्नुपर्छ।

नगरपालिकाहरूले प्राविधिक जनशक्तिको व्यवस्थापन गर्दै संरचना निर्माणलाई प्राविधिक निगरानी र अनुगमनमा मात्र अघि बढाउनुपर्छ। साथै, जमिनको प्राकृतिक स्वरूपलाई ख्याल गरी आधुनिक प्रविधिको प्रयोग गरेर संरचना निर्माण गर्दा मात्र भूकम्पीय जोखिमलाई न्यून गर्न सकिन्छ।

भूकम्प दिवसका अवसरमा मात्र यस विषयमा चर्चा गर्ने चलनले स्थायी समाधान दिन सक्दैन। संरचना निर्माणका सबै तहमा सजगता अपनाउने र कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु अपरिहार्य छ। यसका लागि सर्वसाधारणलाई सचेत पार्न व्यापक जनचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै स्थानीय सरकार, प्राविधिक क्षेत्र र नागरिकको सामूहिक प्रयास आवश्यक छ।

नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशका लागि भूकम्प प्रतिरोधी संरचना निर्माण आजको समयको आवश्यकता हो। सस्तो र जथाभावी निर्माण प्रवृत्तिलाई निरुत्साहित गर्दै गुणस्तरीय संरचना निर्माणमा जोड दिनुपर्छ। यसबाट मात्र जनधनको सुरक्षा सुनिश्चित गर्न सकिन्छ।