तिहारमा मौलिकता र समाजप्रतिको जिम्मेवारी

कार्तिक १६, २०८१     सम्पादकीय


तिहार नेपालका प्रमुख चाडहरूमध्ये एक हो, जसले नेपाली समाजमा विशेष सांस्कृतिक महत्त्व राख्छ। यो पर्वलाई नेपालीहरूले दाजुभाइ, दिदीबहिनी, परिवार र समाजसँगको आत्मीयता साटासाट गर्ने अवसरको रूपमा मनाउँछन्। तर, पछिल्लो समय तिहार पर्वलाई मनाउने तरिकामा धेरै परिवर्तन आएको देखिन्छ। परम्परागत संस्कार र मौलिकता ओझेलमा परिरहेको छ, र यसले तिहारको वास्तविक भावनालाई कमजोर बनाएको छ।

तिहारको महत्वपूर्ण अंग, देउसी-भैलो, यो पर्वको मौलिक विशेषता हो। देउसी भैलोका गीतहरूमा सन्देश र नेपाली लोकजीवनको झल्को पाइन्छ, तर आजभोलि रेकर्ड गरिएका आधुनिक गीतहरूको प्रयोग बढ्दै गइरहेको छ। मौलिक बाजा, लोकधुन र आफ्नै भाका गाएर सांस्कृतिक धरोहरको जगेर्ना गर्न जरुरी छ। यसले हामीलाई आफ्नो संस्कृतिको माया दिलाउनुका साथै भावी पुस्तालाई पनि यस परम्परालाई निरन्तरता दिन प्रेरित गर्छ।

हाम्रो सांस्कृतिक पर्वहरूलाई मौलिकताको मार्गमा अगाडि बढाउन अनावश्यक तडकभडक र देखासिकी गर्न आवश्यक छैन। हरेक चाडपर्व हाम्रो संस्कृतिको पहिचान हुन्, जसमा मौलिकता अटुट रूपमा रहनुपर्छ।

 

यस्तै, तिहारको अवसरमा जुवा र तास खेल्ने प्रचलनले पर्वको सौन्दर्यमा धक्का पुर्याएको छ। यसरी धन र समयको बर्बाद गर्नुको सट्टा, परिवार र साथीभाइसँग मिलेर रमाइलो गर्नु, घरमै बनेका परिकारहरू खाई सँगै समय बिताउनु नै हाम्रो परम्परागत मूल्य हो। यसले हामीलाई पर्वको असली मर्ममा रमाउन दिन्छ। देउसी भैलोबाट उठेको रकमलाई समाजसेवा वा सार्वजनिक कार्यमा लगानी गर्नु नै अझ जिम्मेवार काम हुनेछ।

हाम्रो सांस्कृतिक पर्वहरूलाई मौलिकताको मार्गमा अगाडि बढाउन अनावश्यक तडकभडक र देखासिकी गर्न आवश्यक छैन। हरेक चाडपर्व हाम्रो संस्कृतिको पहिचान हुन्, जसमा मौलिकता अटुट रूपमा रहनुपर्छ। पर्वको असली सन्देशलाई जोगाउन तथा हाम्रो मौलिकतामा रमाउन अहिलेको आवश्यकता हो। तिहार पर्वको सही मर्म र यसको सांस्कृतिक महत्त्वलाई जोगाइ राख्न हामी सबैले यसलाई आफ्नो जीवनमा आत्मसात् गरौं।