मुख्य सचिवलाई गृह जिल्लामा  सम्मान 

असोज १२, २०८१     स्मार्ट संवाददाता


नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याललाई गृह जिल्ला स्याङ्जामा भव्य स्वागत एवं सम्मान गरिएको छ।मुख्य सचिव अर्यालले  पढेलेखेको मावली गाउँमा आँधीखोला गाउँपालिकाले आयोजना गरेको  कार्यक्रममा शनिबार मुख्य सचिव अर्याललाई सम्मान तथा बधाई ज्ञापन गरिएको हो।



सम्मान कार्यक्रममा बोल्दै अर्यालले कर्मचारीतन्त्र आलोचित रहेको बताउनुभयो। आफु निजामती कर्मचारीको उच्च पदमा रहेको र आलोचनालाई कम गर्न सक्दो प्रयास गर्ने बताउनुभयो । बिगतको जस्तो पुरानो कार्यशैलीले कार्य सम्पादन हुन नसक्ने बताउदै अर्यालले सेवग्राही कुरेर नबस्ने र प्रविधि मार्फत मनमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।



मावली गाउँमा पाएको आशीर्वादलाई खेर जान नदिने बताउदै अर्यालले ७७ जिल्ला नै हेर्नु पर्ने र आफु खेलेको माटो आँधीखोला तथा अध्ययन गरेका दुई विद्यालयलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।

जिर्ण स्कुल र धुलोमा बसेर अध्ययन गरेको स्मरण गर्दै सो स्कुल पढ्दा यो स्थानमा पुग्ने नसोचे पनि गुरुहरुले यहाँ ल्याएको अर्यालले बताउनुभयो । असम्भब केही नरहेको बताउदै अर्यालले मेहनत र लगनशिलता नै मुख्य कुरो भएको बताउनुभयो ।

कृष्ण बन्दु सर पुल तरेको थाहा पाएपछि आफुहरु पढ्न थाल्ने बताउदै मुख्य सचिव अर्यालले कृष्ण बन्दु जस्ता गुरुले आफुलाई यो ठाउँमा पुर्‍याएको बताउनुभयो ।

बिगतमा दुर्गम आाँधीखोला अहिले राम्रो र विकसित भएको बताउदै अर्यालले पालिका र जिल्लाको विकासमा सधै रहयोग गरेको र अझ धेरै गर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सार्वजनिक लेखा समिति सभापति सुधिर कुमार पौडेलले यहिको धुलो माटोमा खेलेर मुख्य सचिव बन्नु भएका अर्याललाई आफ्नो कार्यकालमा सुशासनलाई जोड दिन   आग्रह गर्नु भयो ।

जिल्लाबासीका केहि अपेक्षा रहेको बताउदै पौडेलले सिद्धार्थ राजमार्गलाई चारलेन र पालिकाका केहि सडक तथा पर्यटनको विकासमा सहयोगको आग्रह गर्नुभयो ।

मुख्य सचिव अर्यालका शिक्षक कृष्ण बन्दु पौडेलले उहाँ सानैबाट मिजासिलो र बहुप्रतिभाशाली रहेको बताउनुभयो । आफ्नो विद्यार्थी ठुलो बनोस भन्ने चाहना हुने बताउदै पौडेलले सबैले सोचेको ठाउँ पुगेको र मुख्य सचिव बन्नु भएको बताउनुभयो ।

हर्ष विभोर हुदै आखाँबाट आसु झार्दै पौडेललेले कर्तब्यनीष्ठ भएर काम गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वराज पौडेल, उपाध्यक्ष  सीता थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, शिक्षक एक नारायण पौडेल, मुख्य सचिवको श्रीमती मायाँदेवी अर्याल लगायतले मन्तब्य राख्नु भएको थियो ।

मुख्य सचिव भए पश्चात पाहिलो पटक जन्म जिल्ला र मावली पालिका आउनु भएका अर्याललाई पालिकाले सम्मान गरेको हो । पालिकाले मुख्य सचिव अर्याललाई दोसल्ला ओडायर सम्मान पत्रले सम्मान गरेको हो ।

पुतलीबजार नगरपालिका–१० जन्मभूमि भएपनि उहाँले सानोमा मावली आँधीखोला–३ काउरेमा बसेर राष्ट्रिय माविको अध्ययन गर्नु भएको थियो भने २०४१ सालमा जनप्रदीप माध्यमिक विद्यालयबाट एसएलसी उत्रीर्ण गर्नु भएको थियो । २०४६ सालमा निजामती सेवामा प्रवेश गर्नु भएका अर्याल २०८१ भाद्र १३ गते मुख्य सचिव बन्नु भएको थियो ।

अर्यालले जिल्लाको विकास निर्माण लगायतका छलफल गर्ने उद्देश्य सहित दुई दिनको कार्यतालिका बनाएर स्याङ्जा आउनु भएको हो । मुख्य सचिव अर्याललाई पालिका प्रवेशद्धारबाट बाजागाजाँ सहित गाउँपलिका पुर्‍याएर सम्मान कार्यक्रम गरिएको थियो ।

यस्तै, पालिका सँगै अध्ययन गरेको विद्यालय राष्ट्रिय प्रावि, जनप्रदीप माध्यमिक विद्यालयले समेत पालिकामा सम्मान गरेको थियो । यस्तै मावली आउँदै गर्दा फेदिखोला गाउँपालिकाले समेत सम्मान गरेको थियो भने मुख्य सचिव अर्यालले आफ्ना गुरुहरुलाई माला लगायर सम्मान गर्नु भएको थियो ।