मगर समुदायका महिलालाई नौमती बाजा बजाउने तालिम

मङि्सर २७, २०८१     स्मार्ट संवाददाता


भीरकोट नगरपालिकाका  महिलाहरूलाई नौमती बाजा बजाउने तालिम संचालन गरिएको छ।  वडा नं ६ मा मगर समुदायका महिलाहरूलाई लक्षित गरी नौमती बाजा तालिम सञ्चालन गरिएको हो। परम्परागत संस्कृति संरक्षण र बाजा बजाउने सिपको पुस्तान्तरण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा १६ जना महिलाहरूको सहभागितामा तालिम सुरु गरिएको हो।

वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री (रामकाजी) ले   परम्परागत बाजा र नाचलाई जोगाउँदै महिलाहरूलाई  व्यवसायिक र आत्मनिर्भर  बनाउन तालिम संचालन गरिएको बताउनुभयो।

भीरकोट नगरपालिकाका उपप्रमुख भगवती रेग्मी अर्यालले महिलाहरूले आफ्नो परम्परागत सिप सिक्न र संरक्षण गर्न देखाएको सक्रियताको प्रशंसा गर्दै यसलाई आत्मनिर्भरता र महिला सशक्तिकरणको उदाहरणको रूपमा लिन आग्रह गर्नुभयो।

सिमलचौर सामुदायिक भवनमा बुधबारदेखि सुरू भएको  यो तालिम १ महिनासम्म  सञ्चालन हुनेछ। सहभागीहरूलाई प्रशिक्षक तिल बहादुर परियारले प्रशिक्षण दिनुहुनेछ। तालिमले महिलाहरूलाई सांस्कृतिक सम्पदा संरक्षणका साथै नौमती बाजा बजाउने व्यावसायिक सीप प्रदान गर्ने अपेक्षा गरिएको छ।

तालिम र बाजा खरिदका  लागि वडाले २ लाख ५० हजार बजेट छुट्याएको छ। यो पहलले परम्परागत संस्कृति संरक्षणका साथै महिलाहरूको सीप र आत्मविश्वास वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।