पर्खाइ

माघ २८, २०७८


२८ माघ, २०७८

तिमी आउँछ्यौ रे सुनेपछि
सिमलको भुवा झैँ प्रेम
साँचेर बसिरहे थिएँ
मन्द बतास चलिरहेको बेला
तिमी हिँडेको बाटोमा फू ....
गरी छोडिदिउँ र केसमा गएर अल्झियोस्,
एउटा एकान्त बाटोको
ठ्याक्कै कोखै नेर
तिम्रो पर्खाइमा बसिरहेको थिएँ

एउटा बुढो चौतारो झैँ
यति लामो सफर हिँडेर
आएकी एकछिन् बसौली
सोँचेर
चकटी ओछ्याइदिएको थिएँ,
तिमी आउँछ्यौ रे सुनेर
तिम्रो थकान लिइजानु भनेर
बतासलाई पर्म बोलाइ
आएथिएँ,  
तिमी आउँछ्यौ भनेरै
साँझको जून छेकिदिने
बदमास बादलसँग बाझेर
आएथिएँ, झ्याउँकिरीहरुलाई
नकराउनू भनी आएँ,
बाटाका चुच्चे ढुंगालाई तिम्रो
पैतालाको डोब चिनाइ आएँ,
पखेराका पारिजातहरूले
खुब गिज्याइरहेथिए
मैले आँखा झिम्क्याइदिएर आएँ,

तिम्रो पर्खाइमा बस्दै गर्दा
सोँचिरहेथिएँ कि
मानिछौ भने गन्तव्यमा सँगै
जाउँला केको हतार?
सोँच्दा सोँच्दै के के सोँचेछु
उड्दा उड्दै चुटिजाने
चङ्गाको धागो झैँ नभएर

टेक्दा टेक्दै भासिएर जाने
कुनै अक्करे भिरको
काँधजस्तो नभएर
जति झुन्डिएपनि नछिँद्ने
कुनैकुनै बोटको लहराझैँ
पिठ्युँमा जतिसुकै बोझ पनि
नथर्थराइ गजधम्म अडिरहने
कुनै पहलमानको पाइलाझैँ
तिमीले मानिछौ भने सम्बन्ध
यस्तै बनाउँला सोँचेछु
सोँच्दा सोँच्दै यसरी हराएँ
कि आफैमा
तिमी आउने समय यहि
बाटो हुँदै
परको घुम्ती कटिसकेछ

उफ्फ! यो बाटो हुँदै भर्खरै
गएको पैतालाको डोब त्यही
डोब हो जुन चुच्चे
ढुंगाहरूलाई नघोँचिदिनु है
भनेर आएको थिएँ।
       - देशबन्धु आचार्य