साभ नेपालको अभिभावक शिक्षा कार्यक्रम
बैशाख ०८, २०८१

स्मार्ट सम्वाददाता
बैशाख ८, शनिबार
शिक्षा राष्ट्र निर्माणको मूल आधार हो । शिक्षालाई समृद्ध नगर निर्माण गर्ने मेरुदण्डका रुपमा लिइन्छ । सचेत नागरिक, सभ्य समाज विकसित नगर बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । नगरभित्र रहेका सबै बालबालिकालाई समानताको आधारमा शिक्षाको अवसर दिइनुपर्छ । बालबालिकामा रहेका अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन शिक्षा अनिवार्य हुन्छ । अभिभावकहरुमा आफ्ना बालबालिकाहरुलाई घरबाटै संस्कारसहितको शिक्षा प्रदान गर्न अभिभावकीय जिम्मेवारी बोध गराउने उद्देश्यले चितवनको खैरहनी नगरपालिका वडा नं ८ को आयोजना र साभ नेपालको सहजीकरणमा मिति २०८१/०१/०७ र ०८ गते गरी जम्मा दुई दिवसीय अभिभावक सचेतना कार्यक्रम कङ्काली बेङ्केट खैरहनीमा सम्पन्न भयो ।
कार्यक्रम खैरहनी नगरपालिका वडा नं ८ का कार्यवाहक अध्यक्ष श्याम पाठकको अध्यक्षतामा सञ्चालन गरिएको थियो । कार्यक्रममा नगरप्रमुख शशी कुमार खनियाको प्रमुख आतिथ्य रहेको थियो भने शिक्षा शाखा प्रमुख राजु बानियाले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि नगरप्रमुखले बालबालिकामा देशको भविश्य रहेकाले सोही अनुसारका बालबालिकाको क्षमता विकास गर्नका निमित्त अभिभावक नै बढी जिम्मेवार रहने र संस्कारसहितको बालक विद्यालय प्रवेशसँगै उचित शैक्षिक वातावरणले मात्र असल नागरिक उत्पादन हुने हुँदा अभिभावकीय शिक्षा अति आवश्यक भएको कुरा बताए । शिक्षा शाखा प्रमुख राजु बानियाले बालकले पहिलो शिक्षा घरबाटै प्राप्त गर्ने हुनाले अभिभावक शिक्षा अपरिहार्य रहेको कुरा बताउँदै उपस्थित सबैलाई स्वागत गरे । कार्यक्रम सञ्चालनका क्रममा शिक्षा अधिकृत रविन देवकोटाले अभिभावकीय शिक्षा महत्वपूर्ण रहेको बताए ।
कार्यक्रमका मुख्य प्रशिक्षक साभ नेपालका अध्यक्ष डा. तुलसीराम खनालले बालबालिका बाबुआमाका लागि सर्वश्व हुन् र तिनीहरुलाई असल संस्कार दिने पहिलो जिम्मेवारी अभिभावकहरुकै हो भन्ने विषयवस्तु प्रस्तुत गर्दै अभिभावकहरुलाई मनोरञ्जनात्मक शैलीमा जिम्मेवारी बोध गराउने प्रयत्न गरे । अभिभावकलाई आफ्ना सन्तानप्रति जिम्मेवारी बोध गराउँदै प्रशिक्षक स्वस्तिका तिवारीले अभिभावकलाई सहजीकरण गरेकी थिईन ।
