सहज बन्दै ग्रामीण सडकको यात्रा, एक वर्षमै ६ कि. मि. पक्की सडक निर्माण

कार्तिक १६, २०८०


नारायण प्रसाद कोइराला, स्याङ्गजा 

१६ कार्तिक २०८०, बिहिबार

संघीयताको कार्यान्वयनसँगै स्याङ्जाका स्थानीय तहका ग्रामीण क्षेत्रहरूमा भौतिक विकासको सकारात्मक लहरहरू देखिन थालेका छन् l ग्रामीण क्षेत्रमा सडकको पहुँच विस्तार सँगसँगै सडक स्तरोन्नतिको कामले समेत प्राथमिकता पाउँदा ग्रामीण क्षेत्रमा सडक यात्रा सहज हुँदै जान थालेको चालक र यात्रुहरूको अनुभव रहेको छ  l

यातायात व्यवसायी धनबहादुर के.सी.ले सबैजसो वडामा सडक ढलान र स्तरोन्नतिको काम भैरहेकाले ग्रामीण सडक सडक यात्रा विगतको तुलनामा एकदमै सहज बन्दै गएको अनुभव सुनाए l करीव ९ वर्षदेखि भीरकोटमा  सवारी चलाइरहेका सवारी धनी एवम् चालक नविन थापाले ग्रामीण सडकको यात्रा सन्तोषजनक नै रहेको बताए l विगत १५ वर्षदेखि विशेष गरी बयरघारी ओकादी सडक खण्डमा जीप चलाइरहेका चालक याम बहादुर गुरुङले सडकहरू स्तरोन्नतिको काम भैरहेकाले ग्रामीण सडक यात्रा हिउँदको समयमा सहज भएपनि वर्षातको समयमा भने यात्रा एकदमै जोखिमपूर्ण रहेको तितो अनुभव सुनाए l

ग्रामीण सडकको स्तरोन्नतिलाई विशेष प्राथमिकता दिएको भीरकोट नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा पालिकाभित्र ६ किलोमिटर पक्की (ढलान) सडक निर्माण गर्न सफल भएको छ l पालिकाको लगानीमा संचालित वडास्तरीय र नगरस्तरीय योजनाबाट ५ किमी र प्रदेश तथा संघीय सरकारको सहयोगमा १ किमी सडक निर्माण गरिएको योजना अधिकृत याम प्रसाद रेग्मीले जानकारी दिए l

वडागत योजनालाई हेर्दा सबैभन्दा धेरै सडक वडा नं ७ मा निर्माण भएको देखिन्छ l गत आर्थिक वर्ष २०७९/८० मा वडा नं ७ मा मात्रै २ किमी १९७  मिटर सडक निर्माण भएको छ l सबैभन्दा कम सडक वडा नं ६ मा ४०५ मिटर ढलान सडक निर्माण भएको पाइएको छ l वडा नं ५ र ९ मा भने कत्ति पनि सडक ढलान भएको छैन l वडागत योजनालाई हेर्दा गत आर्थिक वर्ष २०७९/८० मा ४ कि.मी. भन्दा बढी सडक ग्राभेल गरिएको छ जसमध्ये वडा नं ९ मा मात्रै २.८ किमी सडक ग्राभेल गरिएको छ भने वडा नं १ मा १५० मिटर, ७ मा ४४५ मिटर र  ८ मा ८५० मिटर सडक ग्राभेल गरिएको छ l

गत आ.व. २०७९/८० र चालु आ.व. २०८०/८१ मा गरी १ किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरिएको छ l नगरपालिकाको प्रशासकीय भवन पहुँच मार्गको २६० मिटर र मोहनडाँडा ठूलीभन्ज्याङ सडक अन्तर्गत ८७० मिटर सडक कालेपत्रे गरिएको प्राविधिक शाखा प्रमुख सरोज पराजुलीले जानकारी दिए l

नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले वडा कार्यालय जोड्ने सडक र रणनीतिक महत्वका सडकलाई पालिकाले विशेष प्राथमिकता दिएको र चालु आर्थिक वर्षमा सडक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय भौतिक प्रगति हासिल गरिने बताए l

नगर उपप्रमुख भगवती रेग्मी अर्यालले नगरपालिकाको आफ्नै डोजरले सडक स्तरोन्नतिको काम गरिरहेकाले ग्रामीण सडकहरू फराकिला र सहज बन्दै गएको बताइन् l सिमित स्रोत साधनका बाबजुत पनि जनताले बढी प्रयोग गर्ने हरेक अप्ठ्यारो सडक खण्डमा ढलान सडक निर्माणलाई प्राथमिकता दिइएको हुँदा  ग्रामीण सडकहरू सवारीमैत्री बन्दै गएको उनको भनाई छ l

प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले पालिकाले नीति तथा कार्यक्रम र बजेटमा नै सडक पूर्वाधार विकासलाई प्राथमिकता दिएको जानकारी दिए l रणनीतिक महत्वका सडकलाई संघ र प्रदेशको सहयोगमा र अन्य सडकहरूलाई पालिकाको बजेटमा जनताको आवश्यकता र मागको आधारमा विस्तार र स्तरोन्नति गरिएको ढुंगानाले स्मार्ट अखबारलाई बताए l

बिज्ञापन