स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम
राष्ट्रिय स्वतन्त्र पार्टी, स्याङ्जाले पार्टी स्थापना दिवसको अवसरमा जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार स्याङ्जा सदरमुकाममा गरिएको रक्तदान कार्यक्रम ३२ पिन्ट रगत संकलन भएको रास्वपा, पुतलीबजारका सभापती वसन्त पङ्गेनीले जानकारी दिए।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी , स्याङ्जाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। संकलित रगत जिल्ला अस्पतालको ब्लड बैङ्कमा पठाइएको छ।
रास्वपा स्याङ्जाले स्थापना दिवसको अवसरमा विविध रचनात्मक र सामाजिक कार्यक्रमहरू गरेर मनाउने क्रममा सदरमुकाममा रक्तदान कार्यक्रम गरेको हो।
पार्टीले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार ५ गते बुधबार वालिङ नगरपालिकामा रक्तदान र अमोर बालगृह फेदिखोलामा खाद्यान्न वितरण गरिने छ। यसैगरी ६ गते फेदीखोलाको नुवाकोटमा , वालिङको गौशाला र मणीमुकुन्देश्वर वेद विद्यालयमा वृक्षारोपण एवं गोडमेलको कार्यक्रम तय गरिएको छ। ६ गते नै सोही विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई फलफूल वितरणको कार्यक्रम छ भने गल्याङ नगरपालिकामा नगर अस्पताल परिसर सरसफाइको कार्यक्रम तय गरिएको छ।७ गते भीरकोट नगरपालिकामा शुभकामना आदानप्रदान गरेपछि दोस्रो स्थापना दिवसका औपचारिक कार्यक्रमहरू सकिने जिल्ला संयोजक रुक्मागत भण्डारी (विश्वास)ले जानकारी दिए।