रास्वपा स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान

असार ०८, २०८१     जीवन अर्याल


राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपा स्याङ्जाद्वारा भीरकोटमा शुभकामना आदानप्रदान एवं चियापान  कार्यक्रम  गरिएको छ।

भीरकोट स्थित  आँधिखोला सिटी हलमा शुक्रबार  दोस्रो स्थापना दिवस मनाइएको हो।  राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका गण्डकी प्रदेश इन्चार्ज झविलाल डुम्रेले पार्टी स्थापना भएकै साल राज्यको चौथो ठूलो दलका रुपमा उदाएको बताए।राष्ट्रिय स्वतन्त्र पार्टीले बलियो वैकल्पिक शक्तिको रुपमा आफूलाई उभ्याउन सफल भएको र आम जनताको मन जित्दै जनमैत्री काम गर्न आफूहरुले मिसन ८४ को नारा लिएर अघि बढेको डुम्रेले बताए।

 जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदीले जनतामा आधारित कार्यक्रम बनाएर घरघर पुग्नुपर्नेमा जोड दिंदै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना आाधिकारिक दस्तावेज, घोषणापत्र तथा नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्नुपर्नेमा जोड दिए।

शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा प्रमुख  राजनीतिक दलका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए। नेपाली कांग्रेस भीरकोट नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण), नेकपा एमाले भीरकोटका अध्यक्ष हर्क गुरुङ, नेकपा माओवादी केन्द्र भीरकोटका अध्यक्ष मिनप्रसाद कोइराला लगायतले राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य सुनौलो रहेकाले जनपक्षीय भएर काम गर्न शुभकामना सहित शुभेच्छा प्रकट गरेका थिए।

स्थानीय स्तरमा सक्रिय राजनीतिक दलका अतिरिक्त आमा समूह, युवा क्लब, लायन्स क्लब, उद्योग वाणिज्य संघ भीरकोटका प्रतिनिधि, समाजसेवी, पत्रकारहरु समेत उपस्थित उक्त कार्यक्रमको सञ्चालन डा. तुलसी प्रवास खनालले गरेका थिए भने सभापतित्व राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल स्याङ्जाका अध्यक्ष रुक्मांगद भण्डारी (विश्वास)ले गरेका थिए।

पार्टीले  स्थापना दिवसको अवसरमा असार ४ गते पुतलीबजारमा रक्तदान, ५ गते बुधबार वालिङ नगरपालिकामा रक्तदान र अमोर बालगृह फेदिखोलामा खाद्यान्न वितरण गरेको थियो। यसैगरी ६ गते फेदीखोलाको नुवाकोटमा , वालिङको गौशाला र मणीमुकुन्देश्वर वेद विद्यालयमा वृक्षारोपण एवं गोडमेलको कार्यक्रम  गरेको थियो। ६ गते नै सोही विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई फलफूल वितरणको गरिएको थियो भने गल्याङ नगरपालिकामा नगर अस्पताल परिसर सरसफाइ गरिएको थियो।७ गते भीरकोट नगरपालिकामा शुभकामना आदानप्रदानसँगै दोस्रो स्थापना दिवसका औपचारिक कार्यक्रमहरू सकिएको जिल्ला संयोजक रुक्मागत भण्डारी (विश्वास)ले जानकारी दिए।