छैटौं पुतलीबजार राष्ट्रपति रनिङ शिल्ड रोशनी मा.वि.लाई

पुष ०२, २०८०


रमेश गाेदार, स्याङ्जा ।
०२ पौष २०८०, सोमबार

पुतलीबजार नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड रोशनी आवासीय माध्यमिक विद्यालय प्रगति नगरले उचालेको छ ।

 

पुतलीबजार नगरपालिकाको आयोजना र त्रिभुवन आदर्श नमुना माविको व्यवस्थापन तथा संचालनमा सम्पन्न प्रतियोगिताका कुल २६ विधाका खेलमा रोशनीले १२ स्वर्ण, ९ रजत र १ कास्य पदकका साथ प्रथम स्थान हासिल गरेको हो ।

मंसिर २९ गतेबाट पुस १ गतेसम्म मालेबगर खेलमैदानमा संचालित प्रतियोगितामा ३ स्वर्ण, २ कास्य र २ रजत पदक हात पार्दै कोल्मा बराहचौर मा.वि., कोल्माले द्धितीय र भूपू आवासिय मा.वि., देवानचोकले २ स्वर्ण र २ रजत पदक सहित तृतीय स्थान हात पारेका छन् ।

पुतलीबजार नगरपालिका भित्रका २४ वटा विद्यालय सहभागीता रहेको प्रतियोगितामा हिमालय मा.वि टक्सारले २ स्वर्ण र २ कास्य पदक हात पार्दै चौथो र मातृभूमि मा.वि.ले १ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित पाँचौ स्थान हात पारेको प्रतियोगिता संयोजक मुक्ति प्रसाद रेग्मीले जानकारी दिए ।

प्रतियोगितामा त्रिभुवन आदर्श नमूना माविले १ स्वर्ण, ३ रजत र १ कास्य, ज्योति आवासिय माविले १ स्वर्ण, २ कास्य र ४ रजत पदक, स्याङ्जा उच्च माविले १ स्वर्ण, १ रजत र ६ कास्य, मनकामना माविले १ स्वर्ण पदक हात पारेका छन् ।

प्रतियोगिताका विजेता खेलाडी र विद्यालयलाई पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले पुरस्कृत गरेका थिए ।

प्रतियोगिताको समापन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले यस्ता प्रतियोगिताले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुराउने बताउँदै विद्यालयले खेलकूदमा समेत ध्यान दिन विद्यालयहरुलाई अनुरोध गरे ।

प्रमुख रेग्मीले अब जिल्ला स्तरीय हँदै प्रदेश स्तरीय प्रतियोगितासम्म पदक जित्न र पुतलीबजारको पहिचना बनाउन खेलाडीहरुलाई शुभकामना दिए ।

विजेता मध्येबाट पुस ८, ९ र १० गते हुने जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि गराइनेछ ।

पुतलीबजार नगरपालिका भित्रका २४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका ६९१ खेलाडीको सहभागिता रहेको थियो ।