लैंगिक समानता विषयक कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा नेपाल जुनियर रेडक्रस सोसाइटी, श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय,वालिङको आयोजना र सामाजिक विकास कार्यालय , स्याङ्जा र नेपाल रेडक्रस सोसाइटी,स्याङ्जाको सहजीकरणमा “लैंगिक समानता विषयक पोस्टर प्रदर्शनी एवं प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ।
“हामी सबैको प्रतिबद्धता , लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता ” भन्ने मूल नाराका साथ वालिङ नगरपालिका वडा नं. १० स्थित विद्यालयको सभा हलमा सम्पन्न भएको कार्यक्रममा प्रविना सुवेदीले जुनियर रेडक्रस सर्कलमा आवद्ध विद्यार्थी र शिक्षक नायकहरूलाई महिला हिंसा र लैङ्गिक समानताको विषयमा प्रशिक्षण दिनुभएको थियो। यस अवसरमा लैंगिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोस्टर प्रदर्शनी, प्रशिक्षण, तथा अन्तर्क्रिया कार्यक्रमहरू आयोजना गरिएका थिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापती दिनेश अर्याल, पूर्णामृत भवानी मा.वि. का प्रधानाध्यापक विष्णुप्रसाद अर्याल, जुनिर रेडक्रस सर्कल स्याङ्जा शाखा प्रमुख विष्णु सुवेदी लगायतका व्यक्तिहरूले महिला हिंसा र लैङ्गिक समानताका विषयमा बोल्नुभएको थियो।
लैंगिक समानताको महत्व, महिला अधिकारको रक्षा, र हिंसा न्यूनीकरणमा विद्यालय , विद्यार्थी र शिक्षकको भूमिका र सहकार्यको आवश्यकता जस्ता विषयमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको कार्यक्रम संयोजक यज्ञपुरूष रिजालले जानकारी दिनुभयो।