भीरकोटमा निशुल्क रेबिज विरुद्धको खोप अभियान शुरु
असोज १२, भीरकोट खबर डेस्क,
भीरकोटमा निशुल्क रेबिज विरुद्धको सप्ताहव्यापी कार्यक्रम मंगलबारबाट शुरु भएको छ । भीरकोट नगरपालिका पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको सहकार्यमा “रेबिज तथ्य बुझौं, त्रसित नहोऔं” भन्ने नाराका साथ खोप अभियान शुरु भएको हो ।
रेबिज विरुद्ध खोपको आविष्कार गर्ने फ्रान्सेली वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाइन्छ। सप्ताहब्यापी कार्यक्रमको पहिलो दिनै १५ वटा सामुदायिक कुकुर सहित ५० वटा कुकुर बिरालालाई रेबिज बिरूद्धको खोप दिइएको पशु सेवा कार्यालय भीरकोटका नायब पशु स्वास्थ्य प्राविधिक चण्डी गैह्रेले जानकारी दिनुभयो। रेबिज एकदमै घातक रोग भएकाले घरभित्रका वा बाहिरका कुकुर बिरालोलाई रेबिज विरुद्धको खोप लगाई आफ्नो परिवार र समाजलाई सुरक्षित राख्न पशु सेवा कार्यालयले अनुरोध गरेको छ।रोग लागिसकेपछि यसको उपचार एकदमै जटिल तथा बिरामी बच्ने संभावना पनि न्यून हुने हुँदा पूर्व सावधानी स्वरुप घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई निशुल्क रेबिजविरुद्धको खोप लगाइने कार्यक्रम रहेको पशु सेवा कार्यालय भीरकोटका प्रमुख पशु सेवा अधिकृत कमलकान्त पौडेलले जानकारी दिनुभयो।खोप अभियान असोज १८ गते सम्म चल्ने भएकाले सबैलाई कार्यालयमा उपस्थित भै सेवा लिन पशु सेवा कार्यालयले अनुरोध गरेको छ।