आँधीखोला संचार सहकरी संस्था लिमिटेड तथा रेडियो आँधीखोला १०५.४ मेगाहर्ज वालिङ ८ ले रेडियो वितरण गरेको छ । संस्थाको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अविधेसनको अवसरमा आफ्ना सदस्यहरुलाई रेडियो वितरण गरेको हो । संचार जगतमा रेडियोको भुमिका अतुलनिय रहेको भन्दै पछिल्लो समय सामाजिक संजालहरुको विकास भईरहेका बेला रेडियोलाई समय सापेक्ष अगाडि बढाउँदै रेडियो सुन्नु बानीको विकास गर्न रेडियो वितरण गरिएको संस्थाले जनाएको छ ।
शनिबार रेडियो भवनमा आयोजित साधारण सभा अधिवेसनको उद्दघाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले रेडियोको माध्यमबाट नागरिक सचेत हुँदै देश विदेशमा भईरहेका घटनाक्रमलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको बताए ।
२०६३ सालमा स्थापना भएको रेडियो आँधीखोला स्याङ्जामै पहिलो संचार संस्थाको रुपमा स्थापित भई अहिलेसम्म निरन्तर रुपमा नागरिकलाई सुसूचित बनाउँदै आएको छ । कार्यक्रममा प्रदेश सांसद कल्पना तिवारी, नेपाली कांग्रेस कार्यवहाक जिल्ला सभापति केदार काफ्ले, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादीका भक्तबहादुर गोतामे, राप्रपाका युक्तप्रसाद तिवारी, रेडियोका निवर्तमान अध्यक्ष धुव्रप्रसाद शर्मापंगेनी, रेडियोका संस्थापक अध्यक्ष रेशमलाल कोईराला, सामाजिक अभियन्ता टिकराज गुरुङ, वडा अध्यक्षहरुको तर्फबाट वालिङ ८ का अध्यक्ष दामोदार तिवारी, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष राधाकृष्ण डुम्रे, उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष चेतनारायण श्रेष्ठ, पब्लिक आवाज साप्ताहिकका सम्पादक अमृत अर्याल लगायतले स्याङ्जाको संचार क्षेत्रमा रेडियो आँधिखोलाको महत्त्वपूर्ण भूमिकाको रहेको बताएका थिए। नागरिकको चेतनास्तरलाई माथि उकास्न अझैसम्म रेडियोको महत्वपुर्ण भुमिका निर्वाह गरेको उनीहरूको धारणा थियो।
कार्यक्रममा अध्यक्ष नेत्रप्रसाद पाण्डेले रेडियोलाई आधुनिक प्रविधियुक्त बनाउन पहल गर्ने, समुदायमा रेडियो कार्यक्रम निर्माण गरी समुदायलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम उत्पादन र प्रसारण गर्दै आईएको भन्दै यस कार्यलाई स्तरोन्नति गर्दै लगिने कर्मचारीको स्थायित्व र वृत्ति विकासका लागी नितिगत व्यवस्था गर्ने, रेडियोको आर्थिक विकासका लागी केन्द्र प्रदेश र स्थानीय सरकारसंँग सहकार्य गर्दै लगिने, कर्मचारीको वृत्ति विकासका लागी प्रशिक्षण कार्यक्रम गर्दै कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण सृजना गर्नेलगायत कार्यहरु उल्लेखित प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठ, लेखा समिति संयोजक विमल अर्यालले समेत आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६३ मा संस्था दर्ता गरी २०६४ मंसिर ६ गते जिल्लाकै पहिलो आवाजको रुपमा रेडियो आँधीखोलाको प्रसारण शुरु भएको थियो । रेडियो अहिले स्याङ्जा , पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की सहित गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा १०५.४ मेगाहर्जमा सुन्न सकिन्छ भने वेभसाईट www.radioandhikhola.org र हाम्रो पात्रो एपमा विश्वभर सुन्न सकिन्छ । रेडियो दैनिक १८ घण्टा प्रशारण हुँदै आएको छ ।