रेविज सप्ताहको अवसरमा निशुल्क खोप र विद्यालय शिक्षा
“अवरोध हटाऔ, रेबिज उन्मुलन गरौ” भन्ने मुल नाराका साथ १८ औं विश्व रेबिज दिवस -२०८१ को अवसरमा वालिङमा रेविज विरूद्धका कार्यक्रमहरू सुरू गरिएको छ।
वालिङ नगरपालिका पशुसेवा शाखाको आयोजनामा कुकुर बिरालोलाई रेबिज रोग विरुद्ध साप्ताहव्यापी नि:शुल्क खोप तथा विद्यालय शिक्षा कार्यक्रमको सुरूवात गरिएको हो। शनिबारबाट सुरू भएको कार्यक्रममा बोल्दै पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले सहकर्मी र खोपकर्ताहरुलाई रेजिब रोगको कारण, लक्षण ,असर र रोकथामका बारेमा जानकारी गराउनुभएको थियो।
डा. बस्यालले रेबिज लागेको कुकुर कसरी चिन्ने,त्यसका विभिन्न अवस्था तथा रोकथामका बारेमा जानकारी दिदै रेबिज रोग कुकुर बिरालो लगायतका अन्य जंगली जनावर ( फ्याउरो, न्याउरीमुसा, चमेरो आदि)हरुको टोकाईबाट सर्ने बताउनुभयो। उहाँले कुकुर , बिरालोले कुनै मानिसलाई टोक्यो भने वा बौलाहा कुकुर सम्पर्कमा आयो भने हामीले तुरुन्तै खोप लगाउनु पर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै मेयर कृष्ण खांँणले रेविज विरूद्धको अभियानलाई सफल बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। उहाँले सम्पूर्ण प्राविधिकहरुलाई आफूले जानेको ज्ञान र विज्ञहरुको सल्लाहलाई जनसमुदायमा पुर्याउन जनचेतनामूलक कार्यक्रम र खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन अनुरोध गर्नुभएको थियो।
रेविज सप्ताहको रूपमा समेत मनाइने यो अभियान अन्तर्गत असोज १७ गतेसम्म वालिङ नगरपालिकाको १४ वटै वडाका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोलाई निशुल्क खोप प्रदान गरिनेछ भने विद्यालय शिक्षा कार्यक्रम समेत सन्चालन हुनेछ।
रेविज विरूद्धको अभियान FAO, WHO,OIE लगायतका संगठन मिलेर अगाडि बढाएका हुन्। यो अभियानलाई GARC (Global Alliance for Rabies Control) भनिन्छ । यसको मुख्य उदेश्य विश्वमा भैरहेको रेबिजलाई शुन्यमा पुर्याउनु हो। यसका लागि विभिन्न खोप कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, जनचेतना कार्यक्रम संचालन गरिएको छ। कुकुरको टोकाईबाट हुने रेबिजलाई सन २०३० सम्म शुन्यमा पुर्याउने लक्ष्य रहेको छ।