अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा भाग्योदय मा.वि. प्रथम

फागुन ०५, २०८१     स्मार्ट संवाददाता


भीरकोट नगरपालिकाले ५ औं बालमैत्री दिवसको सन्दर्भ पारेर आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा भाग्योदय  मा.वि. प्रथम भएको छ। यसैगरी भू.पू. सैनिक कम्युनिटी एकेडेमी द्वितीय भएको छ भने   दहथुम मा.वि., सहिद शुक्र मा.वि. र बुद्ध मेमोरियल अंग्रेजी आवासीय मा.वि. तृतीय भएका  छन्।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइरालाले सहभागी  विद्यार्थीहरूलाई ज्ञान, सीप र क्षमताको सदुपयोग गर्दै निरन्तर सिकाइ क्रियाकलापमा जुट्न अनुरोध गर्नुभयो। उहाँले विजेता र सहभागी विद्यार्थीहरूलाई थप उर्जाशील भएर नगरपालिकाले संचालन गर्ने गतिविधिमा सक्रियतापूर्वक सहभागी हुन सुझाव दिनुभएको थियो।

दहथुम माध्यमिक विद्यालयका शिक्षक चन्द्रकान्त ढुङ्गानाले सहभागी विद्यार्थीहरूको मिहिनेतको प्रशंसा गर्दै अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो।

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा १२ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा जम्मा ५० वटा प्रश्नहरू सोधिएको थियो। हाजिरीजवाफ प्रतियोगिताको संयोजन भाग्योदय माध्यमिक विद्यालयका शिक्षक भोज बहादुर थापाले गर्नुभएको थियो।

भीरकोट नगरपालिकालाई २०७७ फागुन २२ गते बालमैत्री स्थानीय तह घोषणा गरिएको थियो। नगरपालिकाले हरेक वर्ष फागुन २२ गते विभिन्न शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थी र शिक्षकहरूलाई पुरस्कृत गरेर मनाउदै आएको छ।