शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखेका छौं : नगर प्रमुख रेग्मी


पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। वडा नं. १३ को मातृभूमि माध्यमिक विद्यालयमा भएको सार्वजनिक सुनुवाइमा नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखि काम गरेको बताए।
सहभागीबाट उठेका जिज्ञासाको जवाफ दिँदै उनले उक्त क्षेत्रमा अपेक्षित सुधार र उपलब्धी हासिल गरेको दाबी समेत गरे। नगरको एकल प्रयासले भन्दा पनि नगरबासी र सरोकारवालको पनि साथ र सहयोग भएमा थप प्रगति हासिल गर्न सकिने उनको भनाई थियो। नगर प्रमुख रेग्मीले विपद्ले जनधनको क्षति पुर्याएको अवस्थामा आफू सबै ठाउँमा पुगेकोले यस अवस्थामा सबै संयमित भई अगाडी बढ्नुपर्ने बताए। उनले खोलानाला तटबन्धन र विपद् व्यवस्थापन लागि योजना बनाई कार्य गर्ने प्रतिवद्धता जनाए । उनले शिक्षाको गुणात्मक सुधारका लागि केही प्रयास भइरहेको बताउँदै एसईईको नतिजालाई दृटिगत गरि सुधार गरेर लैजानुपर्नेमा जोड दिएका थिए ।
प्रमुख रेग्मीले नगरका मुल सडक मार्गहरुको निर्माण कार्यलाई प्रथमिकतामा राखि कार्य गरिएको बताए।
उपप्रमुख देवी अर्यालले नगरबासीको स्वास्थ्य सेवा, सुरक्षा र मातृशिशु स्वास्थ्यमा नगरले संवेदनशिल भई कार्य गरिरहेको जानकारी दिइन । उनले नगरका योजनाहरुको नियमित अनुगमन निरिक्षण गरि गुणस्तरीय निर्माणका लागि वातावरण सृजना गरेको बताउँदै योजना निर्माणमा सबैको चासो र सहभागिता जरुरी रहेको बताइन।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेलले योजना कार्यान्वयनमा संस्कृतिको संरक्षणमा सबैको ध्यान जान जरुरी रहेको बताउँदै समस्यालाई सुधार गर्दै लैजानुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले भूमी वर्गिकरणको कार्य पुतलीबजारले सम्पन्न गरेको बताउँदै प्राप्त सुझावलाई अध्ययन गरि सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नगर प्रवक्ता एवं आर्थिक विकास समितिका संयोजक मनोज पौडेल, शिक्षा शाखा प्रमुख बाबुराम बराल, योजना शाखाका डोलराज ढकाल, सहरी पूर्वाधार विकास शाखाका गोविन्द दोरंगा लगायतले सहभागीबाट उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रसका नगर सभापति सुरज कुमार अधिकारी, नेकपा एमालेका नगर अध्यक्ष रेशम बहादुर खत्री, निवर्तमान वडा अध्यक्ष ख्याम नारायण अधिकारी, नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष लक्ष्मी थापा, ज्येष्ठ नागरिक समाज गण्डकी प्रदेशका अध्यक्ष ध्रुबराज अधिकारी लगायतले सिंचाई, कृषि, गुणस्तरिय शिक्षा, सडकबाटो, विपद् व्यवस्थापन, ज्येष्ठ नागरिकका समस्या र सहजीकरण लगायतका विषयमा जिज्ञासा एंव सुझाव राखेका थिए ।
कार्यक्रममा वडा सदस्य लिलबहादुर राना, पिपलडाँडा सहकारीका अध्यक्ष दुर्गाप्रसाद काफ्ले, सातुपसल रेडक्रस उपशाखाका सभापति मोती प्रसाद अधिकारी, टोल विकास संयोजक तारकबहादुर थापा, चेम्बर अफ कमर्शका सदस्य मीन प्रसाद अर्याल, दलित विकास समिति संयोजक बुद्धि परियार, व्यवसायी महेन्द्र थापा, शिक्षक नविन तिमिल्सीना, शोभित अधिकारी, झपटबहादुर आले, कृष्ण बहादुर वि.क., तोयबहादुर राना, देवेन्द्रकुमार थापा लगायतले जिज्ञासा राखेका थिए ।