समुन्नत गाउँपालिका निर्माणमा जनताको साथ र सहयोग अपरिहार्य : अध्यक्ष तिवारी

भदौ १३, २०८१     स्मार्ट संवाददाता , स्याङ्जा


अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले गाउँपालिकालाई समुन्नत र समृद्ध बनाउन जनताको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ। अर्जुनचौपारी गाउँपालिकाको आयोजना र रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनको सहजीकरण र व्यवस्थापनमा संचालन गरिएको  सार्वजनिक सुनुवाई क्रममा जनतालाई सम्बोधन गर्दै अध्यक्ष तिवारीले सो कुरा बताउनुभएको हो।



 



अध्यक्ष   तिवारीले सुधारका कार्ययोजना बनाएर लागू गर्दा आफूमाथि  गाउँपालिकाको विकास र समृद्धि नरुचाउने र व्यक्तिगत स्वार्थ बोकेका  केही तत्वहरुले निरन्तर प्रहार गरीरहेको बताउनुभयो।  यथास्थितिवादी र परिवर्तन विरोधी तत्वहरूले जस्तोसुकै चलखेल गरेपनि आफूले हार नमान्ने र जुनसुकै हालतमा गाउँपालिकाको सुशासन,  विकास  र समृद्धिको यात्रा निरन्तर अगाडि बढ्ने अध्यक्ष तिवारीले बताउनुभयो। आर्थिक अनुशासन, फोहरमैला व्यवस्थापन, वित्तीय सुशासन, चुस्त सार्वजनिक सेवा प्रवाहको सुनिश्चितता जस्ता विषयमा अर्जुनचौपारी गाउँपालिका अब्बल रहेको बताउँदै उहाँले गाउँपालिकाले अगाडि सारेका समृद्धि र सुधारका योजनामा साथ , सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण गाउँपालिकाबासीलाई  धन्यवाद व्यक्त गर्नुभएको थियो।

 गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को अन्तिम चौमासिक एवं वार्षिक अवधिको सार्वजनिक सुनुवाई   कार्यक्रममा सहभागीबाट उठेका जिज्ञासाको जवाफ दिँदै गाउँपालिका अध्यक्ष तिवारीले  शिक्षा, स्वास्थ्य र पुर्वाधारलाई प्राथमिकतामा राखी गाउँपालिका समृद्धि यात्रामा अगाडि बढीरहेको बताउनुभयो ।  उहाँले पालिकाबासीलाई निरन्तर सल्लाह सुझाव प्रदान गर्न अनुरोध गर्नुभएको थियो । शैक्षिक सुधारको अभियानमा जति अवरोध आएपनि गुणस्तरीय शिक्षा र उचित संरचना निर्माणमा आफू डटेर सामना गर्ने  अध्यक्ष तिवारीले बताउनुभयो । गाउँपालिकाका हरेक सवालमा आफू सजग रही काम गरेको बताउँदै आफ्नो ठाउँबाट सक्ने काम र सहयोग गर्न उहाँले सरोकारवाला सबैलाई अनुरोध गर्नुभयो ।

 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले गाउँपालिको सेवा प्रवाहका बारेमा जानकारी दिँदै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका निर्वतमा अध्यक्ष दीर्घनारायण अर्यालले पालिकाले सार्वजनिक जग्गा संरक्षण कार्यलाई निरन्तरता दिन अनुरोध गर्दै आफ्नो नेतृत्वमा शुरु गरेका कार्यलाई निरन्तरता दिन जोड दिनुभयो ।

 

सार्वजनिक सुनुवाई कार्यक्रमा नेपाली काँग्रेसका कार्यवाहक सभापति क्षेत्रबहादुर रोकाहा, नेकपा एमालेका अध्यक्ष चक्रबहादुर गुरुङ, राप्रपाका अध्यक्ष भीमबहादुर गोदार, प्रेस सेन्टरका गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, पञ्चकन्या मा.वि.का प्रधानाध्यापक विष्णु तिवारी, टिकाराम खनाल, टुकराज अर्याल, कुमार रोका, मीनबहादुर खड्का, कृष्ण काफ्ले लगायतले सुझाव एवं जिज्ञासा राख्नुभएको थियो ।

गाँउपालिकाका अध्यक्ष प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सपना गुरुङले स्वागत मन्तव्य एवं वडा नं. १ का अध्यक्ष रणबहादुर थापाले धन्यवाद मन्तव्य र रेडियो स्याङ्जा र स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले कार्यक्रम संचालन गर्नुभएको थियो ।