स्मार्ट अखबार संवाददाता
२३ भाद्र २०७९

गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठ सहभागी कार्यक्रम भीरकोट नगरपालिकाका अधिकांश वडा अध्यक्षहरूले बहिस्कार गरेका छ्न्। पालिकाले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस समारोहमा मन्त्री श्रेष्ठ प्रमुख अतिथीको रूपमा सहभागी हुनुभएको थियो। गण्डकी प्रदेशको मन्त्री भएपनि स्याङ्जाको निर्वाचन क्षेत्र नं १ को मात्रै मन्त्री भएको जस्तो गरि प्रदेशबाट विनियोजन हुने बजेट तथा कार्यक्रम भीरकोटका वडा नं १,२, ३ र ४ का लागि मात्रै उपलब्ध गराएको र आँधीखोला पारीका ५,६, ७ ,८, ९ वडालाई वेवास्ता गरेको भन्दै कार्यक्रम संयुक्त रूपमै बहिस्कार गरिएको एक जना वडा अध्यक्षले बताउनुभयो।

यस विषयमा वडा नं ७ का वडा अध्यक्ष एवं नेपाली काँग्रेस भीरकोटका सचिव तारा प्रसाद अर्यालसँग सम्पर्क गर्दा आफूलाई साक्षरता दिवस समारोहमा निम्ता भएपनि मन्त्री आउने विषयमा कुनै जानकारी नभएको बताउनुभयो । विभिन्न वडामा पार्टीका चुनावी अभियानसँग सम्बन्धित कार्यक्रम रहेकाले उक्त कार्यक्रममा उपस्थित हुन नसकेको उहाँको भनाइ थियो ।

अर्का एकजना वडा अध्यक्षसँग सम्पर्क गर्दा आपसी सरसल्लाहमै खोलापारीका वडा अध्यक्षहरूले मन्त्री उपस्थित कार्यक्रम बहिष्कार गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “उहाँ गण्डकी प्रदेशको साझा मन्त्री बन्न सक्नुभएन । विकास निर्माणका योजना तथा शैक्षिक गुणस्तर वृद्धिका योजनामा समेत निर्वाचन क्षेत्र हेरेर कार्यक्रम संचालन गरेकाले उहाँ प्रमुख अतिथि रहेको कार्यक्रम बहिष्कार गरेका हौं ।”

नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा वडा नं ५ का अध्यक्ष कृष्ण बहादुर थापा, ६ का लक्ष्मण खत्री क्षेत्री, ७ का तारा प्रसाद अर्याल, ८ का नन्दलाल खनाल र ९ का भीम बहादुर गुरुङ सहभागी हुनुभएन । केही वडा अध्यक्षहरूले पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त भएकाले मन्त्री सहभागी कार्यक्रमा नगएको बताएपनि मन्त्रीकै विभेदपूर्ण व्यवहारका कारण कार्यक्रममा सहभागी नभएको अर्का एकजना वडा अध्यक्षले बताउनुभयो। चुनावको मुखैमा पार्टीमा देखिएको अन्तर्विरोध पार्टीका लागि घातक हुन सक्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here