व्यवसायिक सुन्तला खेती तालिम सम्पन्न

भदौ २०, २०७९


स्मार्ट अखबार संवाददाता
२० भाद्र २०७९



स्याङ्जाको भीरकोट नगरपालिकामा कृषकहरूलाई व्यवसायिक सुन्तला खेती सम्बन्धि तालिम दिइएको छ। युएनडिपि र भीरकोट नगरपालिकाको सहकार्यमा संचालित हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत व्यवसायिक सुन्तला खेती सम्बन्धि तालिम कृषकलाई दिइएको हो। परियोजनाको व्यवस्थापकिय कार्य अन्धाअन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाले गर्दै आएको छ।



यही भाद्र ६ गतेदेखि सहिद शुक्र मा.वि. मा सुरू भएको तालिम भीरकोट- ८ मोहनडाँडामा समापन गरिएको हो। कृषकहरूलाई व्यवसायिक सुन्तला खेतीमा अग्रसर गराई भीरकोटलाई सुन्तला लगायतका फलफुलमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको पालिकाले जनाएको छ। समापन समारोहमा बोल्दै नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले उत्पादित कृषि उपजलाई बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो। तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न र कृषकलाई व्यवसायीक बन्न समेत उहाँले आग्रह गर्नुभएको थियो। तालिममा वडा नं २, ३,४,५ र ८ का गरी ९० जना कृषकलाई तालिम दिइएको हो।

तालिममा सहभागीलाई प्रत्येक समूहलाई सिकेचर, स्प्रेयर, आरो लगायतका कृषि सामाग्री समेत वितरण गरिएको थियो। कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल, कार्यपालिका सदस्य चित्र ब. राना भुजेल, प्रशिक्षक इश्वरी प्रसाद ढकाल, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल खनाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।