अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सामाजिक सञ्जाल नियमन ऐन : उपमहासचिव ज्ञावली


नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न, सामाजिक संजाललाई मर्यादित बनाउन र डिजिटल समाजमा अनुशासन कायम गर्न सरकारले सामाजिक संजाल नियमन ऐन ल्याउन लागेको बताउनुभएको छ।सामाजिक संजालमा मिथ्या र भ्रामक सूचनाको बाढी आएको, सामाजिक विखण्डन , द्वैष र घृणा फैलाउने सामाग्री बढी भएकाले सामाजिक संजाल नियमन गर्न आवश्यक रहेको उहाँको भनाई छ।
प्रेस चौतारी नेपालको छैटौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले सरकारले सामाजिक संजालमा देखिएको बेथितिलाई नियमन गर्न खोजेको प्रष्ट पार्नुभयो। वर्तमान सरकार सधैं प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उहाँले यो ऐनले पत्रकारीतालाई थप मजबुत बनाउने धारणा राख्नुभयो। सामाजिक संजालमा जथाभाबी र अमर्यादित तरिकाले सम्प्रेषण गरिने विचार र अभिव्यक्तीप्रती लक्षित गर्दै उहाँले भन्नुभयो, ” सामाजिक सञ्जालको जबर्जस्ती उपस्थितिले गर्दा समाचार के हो के होइन? पत्रकार को हो को होइन? भन्ने बहस सृजना भएको छ। यसले गर्दा मिथ्या सूचनाको भिडबाट सत्यलाई जोगाउने चुनौती बढ्दै गएको छ। सामाजिक संजाललाई नियमन गरी मर्यादित नबनाउने हो भने लोकतन्त्र समेत खतरामा पर्छ।”

सामाजिक संजालमा शिष्ट र सभ्य भाषामा सबैले आफ्नो विचार व्यक्त गर्न पाउने बताउँदै उहाँले पत्रकारहरूले मिथ्या सूचनाको भिडबाट सत्यको रक्षा गर्नका लागि पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो। विचार सम्प्रेषणका लागि ठूला मिडिया हाउसको आवश्यकता नरहेको बताउँदै उहाँले विचार र अभिव्यक्ति स्वतन्त्रताका नाममा भैरहेको अलोकतान्त्रिक गतिविधिको नियन्त्रणका लागि सामाजिक संजाल नियमन गर्न खोजिएको प्रष्ट पार्नुभयो।
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल सर्वसम्मत
प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत भएको हो ।
समितिको उपाध्यक्षमा जीवनप्रसाद अर्याल, महिला उपाध्यक्षमा अनिता गौतम, सचिवमा नारायण प्रसाद कोइराला, सहसचिवमा रोशन लामिछाने र मुना न्यौपाने र कोषाध्यक्षमा गोपाल अधिकारी रहनुभएको छ ।

यस्तै, सदस्यहरुमा राम बहादुर रोकाहा, माधवप्रसाद रेग्मी, विश्वेश्वरप्रसाद पोख्रेल, यमकान्त गैह्रे, निशान भट्टराई र यमकला अधिकारी (करुणा) रहनुभएको छ । अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा मोहन गुरुङ र कला राना चयन हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा हरिप्रसाद सुवेदी (सुशील) र राधिका पौडेल चयन हुनुभएको छ ।
