प्रहरी राज्य र नागरिकबिचको मुख्य सम्पर्क सुत्र हो : प्रजिअ नेपाल

असोज ३०, २०८१     नारायणप्रसाद कोइराला


स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्रहरी राज्य र नागरिकबिचको मुख्य सम्पर्क सुत्र भएको बताउनुभएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आयोजित ६९ औं प्रहरी दिवसको अवसरमा शुभकामना प्रदान गर्दै प्रजिअ नेपालले सो कुरा बताउनुभएको हो। प्रहरी जनतालाई सरकारको अनुभूती गराउने निकाय भएकाले   उहाँले प्रहरीलाई निर्भिकतापूर्वक आफ्नो  व्यवसायिक जिम्मेवारी पूरा गर्न र  सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो।

शुभकामना प्रदान गर्दै नागरिक समाजका अध्यक्ष एवं पत्रकार ओम प्रकाश शर्माले प्रहरी संगठनलाई  आधुनिक बनाउँदै प्रहरीलाई दिइने सेवा सुविधा आकर्षक बनाउनुपर्ने धारणा राख्नुभयो। सेवासुविधा आकर्षक भएमा मात्र  प्रहरी जवानहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिने उहाँको विचार छ। प्रहरी प्रशासनको सकृयताका कारण जिल्लाको शान्ती सुरक्षाको अवस्था राम्रो रहेको उहाँले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका  प्रहरी उपरीक्षक शालिकराम शर्माले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सहयोग सहकार्य गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो।

कार्यक्रममा ११ जना अमर प्रहरी परिवारका सदस्यहरूलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो। यसैगरी ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिताका विजयी प्रहरी जवानहरूलाई शिल्ड, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो।

प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको मातहतमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो। पुरस्कृत हुनेहरूमा दहथुम प्रहरी चौकीमा कार्यरत नायव निरीक्षक प्रमोद कडेल, जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हल्वदार युवराज तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी जवान मोहन चेपाङ, प्रहरी चौकी अर्जुनचौपारीमा कार्यरत प्रहरी जवान प्रकाश कोली(कामी) रहनुभएको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका विभिन्न काम कारबाहीमा निस्वार्थ सहयोग गर्नुहुने पुतलीबजार नगरपालिका निवासी दिपक लम्साल, महेश बहादुर थापा(गणेश), रमेश शिवाकोटी, साखालिद मिया, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्याल र पत्रकार रमेश गोदारलाई प्रसंशापत्र सहित सम्मान गरिएको थियो।