अनुदानमा २० टन आलुको बीउ वितरण
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले कृषकहरूलाई अनुदानमा २० टन आलुको बीउ वितरण गरेको छ ।पालिका क्षेत्रभित्रका आमा समूहहरु मार्फत ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख प्रतीक अर्यालले जानकारी दिनुभयो।
जनकदेव १३ टन, कार्डीनल (रातो) ३ टन , MS४२ (निलो) २ टन र खुमल उज्ज्वल (सेतो)२ टन गरि २० टन आलुको बीउ वितरण गरिएको कृषि शाखाका प्रमुख अर्यालले जानकारी दिनुभयो। कृषकहरूले ५० प्रतिशत अनुदान प्राप्त गर्दा प्रतिकेजी आलुको मूल्य ४० रूपैयाँ तिरेका छन्।
आलुको बीउ वितरणका विषयमा सामाजिक संजालमा नकारात्मक प्रतिक्रिया किन आएको हो, प्रष्ट पारिदिनुहुन्छ कि भन्ने हाम्रो जिज्ञासामा शाखा प्रमुख अर्यालले खायन आलु र बीउ आलुको मूल्य र गुणस्तर फरक पर्ने बताउँदै बुझाइको कमीका कारण सामाजिक संजालमा नकारात्मक प्रतिक्रिया आएको प्रष्ट पार्नुभयो।
पालिकाभित्रका करिब ५० आमा समूहहरु मार्फत बीउ वितरण गरिएको हो। पालिकालाई आलुमा आत्मनिर्भर बनाउन र व्यावसायिकतातर्फ उन्मुख गर्न पालिकाले नै अनुदानमा बीउविजन वितरण गरिएको पालिकाले जनाएको छ।