राष्ट्रिय राजनीति सहि दिशामा छ: अर्थमन्त्री पौडेल

फागुन ०२, २०८१     एनपी कोइराला


नेकपा एमालेका उपाध्यक्ष , उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय राजनीति सहि दिशामा रहेको बताउनुभएको छ।उहाँले भन्नुभयो, ” विगतमा मूलक अस्थिरताको चक्रव्युहमा फसेको थियो। प्रचण्ड राष्ट्रिय राजनीतिमा मुख्य भूमिकामा हुँदा देशमा अस्थिरता फैलिएको र अर्थतन्त्र समेत ध्वस्त भएको थियो। तर अहिले दुई ठूला दल मिल्दा देशमा राजनीतिक स्थिरताका साथै अर्थतन्त्रमा सुधार देखिएको छ। निजी क्षेत्रले सरकारलाई विश्वास गर्न थालेको छ।” नेकपा एमाले, स्याङ्जाले  आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा ३ महिने वडा केन्द्रित अभियानको शुभारम्भ एवं अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताउनुभएको हो।

अभियानको शुभारम्भ गर्दै  पौडेलले एमालेको नेतृत्वमा देशमा राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार निर्माण र  विकासका गतिविधि सन्तोषजनक तरिकाले अगाडि बढेको र राजनीतिक स्थिरता समेत सृजना भएको दोहोर्‍याउनुभएको थियो। उहाँले जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै पार्टीको जनसम्पर्क र  जनाधार बलियो बनाउने तरिकाले अभियान संचालन गर्न निर्देशन दिनुभयो।

नेकपा एमालेका सचिव पदमा कुमारी अर्यालले पार्टीलाई सक्रिय र गतिशील बनाउन वडा केन्द्रीत अभियान सुरू गरिएको बताउनुभयो। समग्र पार्टी र देशको हितका निम्ति सबै एकजुट बन्नुपर्नेमा जोड दिदै उहाँले जनता र पार्टी सम्बन्धलाई बलियो बनाउन, जनताको घरदैलोमा पुगेर संवाद गर्न, जनसरोकारका विषयलाई सम्बोधन गर्ने तरिकाले अगाडि बढ्न र विचारका आधारमा पार्टीलाई गोलबन्द गर्न जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो।

एमाले स्याङ्जाका अध्यक्ष सूर्य कुमार गैह्रे (पारस) को अध्यक्षतामा स्याङ्जा सदरमुकाममा भएको कार्यक्रममा महेश पुरी, पूर्व मन्त्री किरण गुरुङ लगायतले अभियानको बारेमा बोल्नुभएको थियो। कार्यक्रममा जिल्ला भरीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।