रेविज संक्रमित मृत जनावर किनबेच गर्ने दुई जना पक्राउ

स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रेविजको लक्षण देखिएका मृत जनावरहरू किनबेच गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, वालिङ नगरपालिका–५ बस्ने ५५ वर्षीय राजेन्द्र बहादुर के.सी.ले आफ्नै घरमा पालेका जनावरहरू भैंसी, भैंसीको पाडो, बाख्रा, र बाख्राको पाठीसहित चारवटा जनावर वालिङ नगरपालिका–८ का ५० वर्षीय शंसुदिन मियाँलाई बिक्री गरेका थिए। शंसुदिन मियाँले ती संक्रमित मृत जनावरहरू ग.२ च. २७६० नम्बरको सवारी साधनमा राखी भीरकोट नगरपालिका, बयरघारीतर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले खोजतलास गरेको थियो।

फागुन १२ गते दिउँसो करिब २ः३० बजे वालिङ नगरपालिका–१ स्थित प्रहरीले उक्त सवारी साधनलाई नियन्त्रणमा लिई खानतलासी गर्दा मृत जनावरहरू भेटिएको थियो। वालिङ नगरपालिकाको पशु प्राविधिक टोलीले परीक्षण गर्दा ती जनावरहरूमा रेविजको लक्षण देखिएको पुष्टि भएको थियो।
संक्रामक रोग फैलाउने कार्यमा संलग्न भएको आरोपमा दुबै जनालाई नियन्त्रणमा लिई स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिनुभयो।