मान्छेको परिभाषा
माथि मथिंगलमा स्वर मच्चाउछन् सोंचहरु
खलबलाउछन् गिदी तिनका ताण्डव नाचले
विमुख गराउछन् एकाग्रता
सुरु हुन्छ बिचारको क्रमभंगता
खेल्छन अनेकौ कुराहरु
अचानक अडिन्छ एउटा कुरामा
‘मान्छेको परिभाषा’
विभिन्न शब्द्कोशको पानाहरुमा छापा मार्छु
पल्टाउछु विभिन्न मानब इतिहासका सिद्धान्तहरु
विचरण गर्छु बिभिन्न इन्टरनेटका पोर्टलहरु
भेट्छु सबै धर्मका ठेकेदारहरु
संगत गर्छु कथित ज्ञानीगुनीहरु,
केवल पाउछु उल्झनमात्रै
शब्दशब्दमा जेलिएका
माकुरोको जालोजस्तै,
र त्यहि जालमा जेलाएर राखिएको छ परिभाषा
बाध्य बनाइन्छ त्यहि जालमा जेलिन
स्वीकार्न लगाइन्छ त्यहि परिभाषा,
बनाइन्छ एक शास्वत् सत्य
जालमा अल्झिएको भ्रमलाई,
अहँ कतैबाट आउदैन चित्तबुझ्दो परिभाषा
मलाई स्वीकार्य छैन तिम्रा शास्वत सत्य
प्रभाब पार्न सक्दैन तिम्रा भ्रमले,
बरु एक्लो बृहस्पति बन्छु
तर शिरोपर गर्दिन कहिल्यै नसुल्झने गरी
गाँठो पारिएका तिम्रा जालहरु
खोजि गर्छु आफुलाई चित्त बुझ्ने परिभाषा
म देख्छु मान्छेहरु,
आफूभन्दा भिन्न सोंच भएको मान्छे देखेर
डराएर कुकुरझै भुकिरहेका,
अरुले सुन्न नचाहँदा पनि बेपर्वाह
कागझैं कराईरहेका,
आफ्नो सपना पुरा गर्न नसकेपछी
अरुको सपना भत्काउन बाँदरझैं लागिपरेका,
कसैको डाहमा जलेर पछाडिबाट
सर्पलेझैं ठुँग्न खोजिरहेका,
आफ्नो सपनानै छैन जस्तो गरी
अरुकै सपनाको पछी भेडाझैँ लागिरहेका,
अरुकै सपना पछ्याउदा
पुतलिझैं आगोमा होमिएका,
आँफुभन्दा कम्जोर देख्नेबित्तिकै
बाघझै पन्जा मारिरहेका,
म देख्छु मान्छेहरु,
सधैंभरि गाँजा चरेसमा
शिवजीझैं लठ्ठिरहेका,
कृष्णजी जस्तै गोपिनिहरुसंग
निस्फिक्री रासलिला गरिरहेका,
इन्द्रले जस्तै आफ्ना इन्द्रियका
जालहरु बिच्छाइरहेका,
आफुले सानो त्याग नगरेपनि
बुद्धलेझैँ त्यागको प्रवचन दिइरहेका,
आफ्नै दुखको क्रसमा
जिसस क्राइस्टझैँ झुण्डीरहेका
म भेट्दिन मान्छेमा एकरुपता
भेट्दिन म मानवता,
कि म देख्छु भगवान मान्छेभित्र
कि देख्छु जनावर,
मान्छेभित्र म मान्छे भेट्दिन
जनावर र भगवान बिनाको म मान्छे नै देख्दिन,
त्यसैले मान्छे स्वतन्त्र छैन
र छैन उसको स्वतन्त्र परिभाषा ।