श्रम तथा रोजगारी सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

असार १९, २०८१     स्मार्ट सम्वाददाता


भीरकोटमा रोजगार सेवा केन्द्रबाट प्रवाह गरिने सेवा सम्बन्धी एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सोमबार   नगरपालिका सभाहलमा सम्पन्न भएको छ ।  कार्यक्रममा भीरकोट नगरपालिकाका वडा सदस्यहरु,वडा सचिवहरु, श्रममुलक आयोजनामा कार्यरत लाभग्राही, नगरपालिकाका कर्मचारी गरी करिब ९५ जनाको उपस्थिति थियो ।

रोजगार सेवा केन्द्रबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका श्रममुलक अयोजनाहरुको प्रगति तथा समिक्षा, आगामी आर्थिक वर्षमा सञ्चालन गरिने आयोजनाहरु कसरी सहज र सरल तरिकाबाट सम्पन्न गर्न सकिन्छ, आइपरेका समस्याहरुलाइ कसरी समाधान गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गरिएको थियो।साथै छलफल क्रममा सहभागीहरुले नेपाल सरकारले तोकेको ज्याला कम भएकाले उक्त रकममा स्थानीय सरकाले थप गरी आयोजना सञ्चालन तथा भुक्तानी गरेको खण्डमा लाभग्राहीलाइ काममा खटाउन सहजता हुने तथा विकास निर्माणका काममा पनि सहयोग हुने बताए ।

आयोजना सञ्चालन प्रक्रिया तथा आइपरेका समस्याहरुमा समाधान कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा योजना अनुगमन तथा कार्यक्रम अधिकृत याम प्रसाद रेग्मीले र भुक्तानी प्रक्रियामा आइ परेका समस्याहरुको सहजीकरण आर्थिक प्रशासन प्रमुख जब्बर अलि मियाँले गरेका थिए ।

 कार्यक्रममा स्थानीय रोजगार रणनीति तर्जुमाका लागि धारणा सङ्कलन तथा सहजीकरण, विभिन्न वडाहरुमा सम्पन्न भएको “श्रमको सम्मान, राष्ट्रको अभियान” कार्यक्रमको समिक्षा तथा समापन गरिएको थियो । रोजगार संयोजक बसन्त बस्नेतले सहजीकरण गरेको उक्त सेसनमा वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाहरु तथा सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी गराइएको थियो।

प्रमुख प्रशासकीय धर्मराज ढुंगानाले  यस आर्थिक वर्षमा सम्पन्न भएका आयोजनाहरुमा खटिएका लाभग्राहीलाई सरकारले तोकेको न्युनतम ज्यालामा पनि काम गरेको धन्यवाद व्यक्त गरे ।उनले वडा सदस्य तथा वडा सचिवहरुलाइ कुनै पनि कार्यक्रम तथा आयोजनाहरुमा समन्वय, निरीक्षण तथा सहजीकरण गरिरहेकोमा प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाइ निरन्तरता दिन अनुरोध गरे ।

 वडा सदस्य खड्ग बहादुर महत (प्रकाश)ले यस कार्यक्रमले स्थानीयस्तरमा नै रोजगारी दिएको र आफ्नै टोल तथा समुदायमा आवश्यक पूर्वधार पनि निर्माण सहयोग गरेको प्रसङ्ग उल्लेख गर्दै वर्षभरि नै रोजगारी दिन सकेको खण्डमा विदेशिने व्यक्तिहरुको संख्यामा कमी आउने बताए ।

“श्रमको सम्मान, राष्ट्रको अभियान” अन्तर्गत लाभग्राहीलाई परिचय पत्र प्रदान गरिएको थियो। साथै श्रमलाइ मर्यादित गराउने श्रम र रोजगारीसँग सम्बन्धित १५ वटा नारा उच्चारण समेत उच्चारण गरिएको थियो। नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले   विकासको काममा सबैको हातेमालोले नै समृद्ध भीरकोट बनाउन सहयोग हुने बताउँदै प्रत्येक वर्ष फागुन महिनामा खुल्ने बेरोजगार सूचीकरण दर्ता कार्यमा आफ्नो वडाभित्र राम्रोसँग सुसूचित गराइ फारम भर्नेकार्यमा सहजीकरण गर्न सम्पूर्ण वडा सदस्यलाइ आग्रह गरेका थिए।