प्लास्टिक सर्जरी सेवा प्रदान गर्न स्याङ्जामा बिरामी छनोट शिविर हुँदै
बी एण्ड बी अस्पताल, ललितपुरले स्याङ्जाका ४ वटा पालिकामा प्लास्टिक सर्जरी सेवा प्रदान गर्न बिरामी छनोट गर्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। अस्पतालले फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, चापाकोट नगरपालिका र भीरकोट नगरपालिका बिरामी छनोट शिविर गर्न लागेको हो। पालिकाहरू र अस्पतालको सहकार्यमा बिरामी छनोट शिविर हुने बि.एण्ड बि. अस्पतालका निर्देशक डा. महेन्द्र महर्जनले जानकारी दिनुभयो।
चापाकोट नगरपालिकाको चापाकोट अस्पतालमा पुस १४ गते, भीरकोट नगरपालिकाको भीरकोट नगर अस्पताल, हेलुमा पुस १५ गते, बिरुवा गाउँपालिकाको बिरुवा स्वास्थ्य चौकी , बिरुवा २ मा पुस १६ गते र फेदीखोला गाउँपालिकाको फेदीखोला आधारभूत स्वास्थ्य सेवा केन्द्र , फेदीखोलामा पुस १७ गते बिरामी छनोट गरिने अस्पतालले जनाएको छ।
शिविरमा ओठ तथा तालु फाटेका, गिजामा प्वाल परेका, नाक तथा ओठ नमिलेका बिरामीहरू छनोट गरिने बि.एण्ड बि. अस्पतालका निर्देशक डा. महेन्द्र महर्जनले जानकारी दिनुभयो।
शिविरमा छनोट भएका बिरामीहरूलाई बि. एण्ड बि. अस्पतालमा निशुल्क प्लास्टिक सर्जरी सेवा प्रदान गरिने महर्जनले जानकारी दिनुभयो। प्लास्टिक सर्जरी गर्नुपर्ने बिरामी र कुरूवाले निशुल्क गासबास र यातायातको सुविधा प्राप्त गर्नेछन्। यसैगरी बिरामीले औषधि, उपचार र शल्यकृया सुविधा निशुल्क प्राप्त गर्ने अस्पतालले जनाएको छ।