फेदीखोलामा चार दिने मादल बजाउने तालिम

असार ०७, २०८१     युवराज पौडेल


स्याङ्जा । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं १ मा ४ दिने मादल बजाउने तालिम सम्पन्न भएको छ । महिला तथा बालबालिकाहरुको क्षमता विकास गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो ।

फेदीखोला वडा नं १ को आयोजनामा सम्पन्न उक्त तालिम असार २ गतेदेखि ५ गतेसम्म सञ्चालन गरिएको थियो । तालिममा वडा नं १ अन्तर्गतका सबै टोलविकास तथा आमा समूह, विद्यालयका विद्यार्थीहरु तथा भजन टोलीको सहभागिता रहेको थियो ।

वडा नं १ का वडाध्यक्ष अमृत क्षेत्रीले यो कार्यक्रमबाट लोकसंस्कृतिको संरक्षण हुने र समाजमा हुने विभिन्न कार्यक्रमहरुमा मादल बजाउन जान्ने मानिसहरु तयार हुने भएकाले आफूले यस कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए। उनले भने, ‘हामी विभिन्न विद्यालयका कार्यक्रममा जाँदा होस् वा अन्य कार्यक्रममा जाँदा मादल बजाउन जान्ने जनशक्ति समेत नभएको देख्यौं । त्यसपछि हामीले मादल बजाउने सीप सिकाउनुपर्छ भन्ने ठानेर यो कार्यक्रम आयोजना गरेका हौं ।’

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीले सानादेखि ठूलासम्म आफ्नो परम्परागत संस्कृति संरक्षण गर्न सिकाउने महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा वडाध्यक्ष अमृत क्षेत्रीलाई धन्यवाद व्यक्त गरे  ।

मादल बजाउने तालिमको समापन कार्यक्रममा विभिन्न समूहहरुले आफ्नो तालिममा सिकेको सीपलाई समेट्दै विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा नवजागृति आमा समूह, मट्टीखान आमा समूह, सर्केटारी भजन समूह लगायतका टोलीले आफ्नो प्रस्तुति गरेका थिए ।

करिब ५० जनाभन्दा बढी प्रशिक्षार्थी दैनिक रुपमा बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म सक्रियताका साथ उत्साही भएर मादल बजाउने तालिम सिकेको तालिमका प्रमुख प्रशिक्षक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की शाखाका सचिव सुनिल गायकले बताए ।



सहभागी प्रशिक्षार्थीहरुले मादल सिकाइ आफूहरुका लागि एकदमै व्यावहारिक तथा आवश्यक रहेको भन्दै सिक्न पाउँदा खुसी लागेको बताए । उनीहरुले सिकेको सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता समेत व्यक्त गरे । सहभागीहरुले लगातार विभिन्न सीपमूलक तालिमको आयोजना गरी महिलाहरुलाई सीपको अवसर प्रदान गरेको भन्दै वडा कार्यालय र वडाध्यक्षलाई धन्यवाद व्यक्त गरेका थिए ।

मट्टीखान आमा समूहकी सदस्य अमृता पौडेलले तालिमबाट गाउँघरमा आइपर्ने विभिन्न कार्यक्रम तथा अवसरहरुमा मादल बजाउन सक्ने भएको बताउँदै घरमा अभ्यास गरेपछि अझै राम्रो गर्न सकिने विश्वास व्यक्त गरे ।

सहभागी विद्यार्थीहरुले पनि विद्यालयमा किताबी ज्ञान प्राप्त गरे पनि यस खालको व्यवहारिक सीप सिक्ने अवसर नमिलेको अवस्थामा मादल बजाउन सिकेर विद्यालयमा आयोजना हुने कार्यक्रमहरुमा मादल बजाउन सक्ने भएको प्रतिक्रिया व्यक्त गरेका थिए ।

उक्त ४ दिने तालिममा सहभागी प्रशिक्षार्थीहरुमध्येबाट उत्कृष्ट दुई जना पवन पोख्रेल र देवी सुबेदीलाई नगद सम्मान गरिएको थियो भने सहभागी सबै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।