बाल दिवसको अवसरमा पञ्चेबाजा प्रतियोगिता
‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मुलनाराकासाथ आयोजित ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाले बालबालिका समूहहरुबीच पञ्चेबाजा प्रतियोगिता गरेको छ ।
जिल्लाब्यापी प्रतियोगितामा १२ पञ्चेबाजा समूहको सहभागिता रहेको थियो।आधुनिकताले। हाम्रा परम्परा, लोकबाजा, लोक संस्कृतिमा पारेको प्रभाव न्यूनीकरण गर्न र विद्यार्थीलाई लोकबाजातर्फ आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यस कार्यक्रमले विद्यार्थीहरू हाम्रो संस्कार, सीप, कला र संगीतको संरक्षण गर्न सक्षम हुनुका साथै उत्प्रेरित हुने बताउनुभयो ।
पुरानो पुस्तामा रहेको सीप नयाँ पुस्तामा पुस्तान्तरण हुनुकासाथै हाम्रा संस्कार संस्कृतिको संरक्षणकालागि पनि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको दावी सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको गर्नुभयो ।
कक्षा एकदेखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाको समूह, टोल, बालक्लब, वडा कार्यालय, पालिकास्तरीय समूह निर्माण गरी कुल १२ समूहले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम कालीगण्डकी गाउँपालिकाको जनता माध्यमिक विद्यालय बिर्घा, द्वितीय आँधीखोला गाउँपालिकाका जनहीत माध्यमिक विद्यालय र तृतीय आँधीखोला गाउँपालिकाकै त्रिशहीद नमूना माध्यमिक विद्यालय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय भएका बाजासमूहहरुले क्रमश ६ हजार, ५ हजार र ४ हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेका थिए ।