राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ महोत्सव

असार १६, २०८१     ढाकाराम खनाल


स्याङ्जाको भीरकोट नगरपालिकामा राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव २०८१ मनाइएको छ। नवसिर्जना कृषि सहकारीको  आयोजना र   जिल्ला कृषि ज्ञान केन्द्र , भीरकोट नगरपालिका स्याङ्जाको सहयोगमा  धान दिवस एवं रोपाइँ महोत्सव गरिएको हो। नगरपालिकाको वडा  ५ र ८ मा अवस्थित  चक्लाबन्दी फांँटमा नौमती बाजा सहित धुमधामका साथ गरिएको कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि , कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

नव सृजना कृषि सहकारी संस्थाका अध्यक्ष श्याम प्रसाद खनालको अध्यक्षतामा संचालित उक्त कार्यक्रमलाई थप उर्जा, हौसला र प्रेरणा प्रदान गर्न भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्य,  निवर्तमान नगर प्रमुख छायाराम खनाल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख शालिकराम शर्मा, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख सुशान्त बराल, जिल्ला कृषि ज्ञान केन्द्र प्रमुख विनोद हमाल, सुन्तला सुपर जोन प्रमुख माधव लम्साल, नगर प्रवक्ता एवं वार्ड नं. १  अध्यक्ष दीपेन्द्र के. सी. , वडा नं ८ का अध्यक्ष नन्दलाल खनाल लगायतका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको  थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले मनसुनजन्य विपद्  व्यवस्थापन गर्नमा सबैले सहकार्य गर्न र जनप्रतिनिधिले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिइन्। निवर्तमान नगर प्रमुख छायाराम खनालले खेतीयोग्य जमिन बाँझो राख्न नहुने कुरामा जोड दिंदै धान रोपाइँ नेपाली समाजको   संस्कृति भएको धारणा राखेका थिए। नगर प्रमुख गोविन्द कर्माचार्यले व्यवसायिक कृषि गर्न सकेमात्र समृद्धि हाँसिल गर्न सकिने धारणा राखेका थिए।

सहकारीका अध्यक्ष श्याम प्रसाद खनालले १ सय ३० रोपनी क्षेत्रफल चक्लाबन्दी गरिएको जानकारी दिए। खनालले चक्लाबन्दी पश्चात्  खेतीपाती गर्न र प्रविधिको प्रयोग गर्न सहज भएकाले उत्पादनमा वृद्धि भएको र स्थानीय किसानहरू खुशी भएको बताए।