विद्यार्थीलाई मोबाइल प्रयोग गर्न दिनुपर्छ : सांसद थापा
डिजिटल सामाग्रीको बढ्दो प्रयोगले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर परिरहेको अभिभावक र सरोकारवालाको गुनासो सुनेपछि संघीय सांसद राजु थापाले विद्यार्थीलाई मोबाइल फोन प्रयोग गर्न दिनुपर्ने बताउनुभएको छ।
सांसद थापाले कालिका माध्यमिक विद्यालय, पुतलीबजारको ३३ औं वार्षिकोत्सबमा विद्यार्थी र अभिभावकलाई सम्बोधन गर्दै वर्तमान समय आइटीको जमाना भएकोले मोबाइल प्रविधिको सही प्रयोग गर्न प्रेरित गर्नुपर्ने विचार राख्नुभयो। उहाँले अभिभावकहरूलाई बालबालिकाले मोबाइल चलाए भन्दैमा तर्सिन नहुने र उनीहरूको क्षमतालाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो। “विद्यार्थीलाई मोबाइल दिनुपर्छ, तर त्यसको उचित प्रयोग गर्न र समय व्यवस्थापन गर्न अभिभावक जिम्मेवार हुनुपर्छ ” उहाँले भन्नुभयो।
वार्षिकोत्सबका प्रमुख अतिथि समेत रहेका सांसद थापाले आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “राष्ट्रियता पढाउनुका साथै विद्यार्थीलाई प्राविधिक ज्ञानमा दक्ष बनाउनुपर्छ।”
कक्षा १२ पास भए लगत्तै विदेशिने प्रचलन ह्वात्तै बढेको प्रती चासो र चिन्ता व्यक्त गर्दै उहाँले विद्यालयहरूमा सिपमूलक एवं आत्मनिर्भर बनाउने शिक्षा प्रणाली र राष्ट्रियताको बारेमा पढाउनुपर्ने आवश्यकता औल्याउनुभयो।
विद्यालयका शैक्षिक सुधारका लागि बजेटको व्यवस्था महत्वपूर्ण रहेको औंल्याउँदै, कम्तीमा राष्ट्रिय बजेटको ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने विषयमा संसदमा निरन्तर आवाज उठाएको बताउनुभयो। उहाँले विद्यार्थी, शिक्षक र अभिभावकको समन्वयमा मात्र विद्यालयको गुणस्तर सुधार हुने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा अभिभावक एवं शिक्षकहरूलाई सम्बोधन गर्दै प्रदेश सांसद सुधिर पौडेल र नगर प्रमुख तुलसीराम रेग्मीले विद्यालयको शैक्षिक गुणस्तर उकास्न विद्यार्थी, अभिभावक र शिक्षक सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।