सफलताको रहस्यः कल्पना  

माघ २३, २०८१     डा. तुलसी राम खनाल


मानिस चेतनशील प्राणी हो । त्यही चेतनाकै कारण मानिस संसारको सर्वश्रेष्ठ प्राणी ठहरिएको छ ।आज संसारमा जति पनि भौतिक तथा बौद्धिक उन्नतिहरु भएका छन् ती सबैको कारण मानिसको चेतना वा मस्तिष्ककै उपज हुन् । मानव मस्तिष्कको उपयुक्त प्रयोग हुन सकेमा अझै कैयौं गुना उपलब्धिहरु हासिल हुन सक्ने कुरा बैज्ञानिकहरु बताउँछन् ।

  मानिसको मस्तिष्कका दुईखण्ड हुन्छन् । ती हुन्ः दायाँ र बायाँ मस्तिष्क । बायाँ मस्तिष्कको प्रमुख काम विचार गर्नु हो भने दायाँ मस्तिष्कको प्रमुख काम कल्पना गर्नु हो मानिसले प्रायः बायाँ मस्तिष्कको प्रयोग गरिराखेको हुन्छ । हाम्रो शिक्षाप्रणली र हाम्रा ज्ञानहरु सबैले हामीलाई बायाँ मस्तिष्कको प्रयोग गर्न सिकाइरहेका छन् र हामी सबै त्यही गरिरहेका  छौं । हामी आफ्नो मस्तिष्कलाई   १–३ प्रतिशतमात्र प्रयोग गरिरहेका छौं । बाँकी ९७ प्रतिशत मस्तिष्क प्रयोग नै नभई मानिस मरेर जाने कुरा बैज्ञानिकहरुले गरेका विभिन्न अनुसन्धानहरुले बताउँछन् । हामीले प्रयोग गर्ने १–३ प्रतिशत मस्तिष्क पनि बायाँ मस्तिष्क मात्र हुन्छ । दायाँ मस्तिष्क हामी प्रायः प्रयोग नै गर्दैनौँ जुन अत्यन्तै महत्वपूर्ण छ ।

 मस्तिष्कको बारेमा गहन खोज गर्ने बैज्ञानिक हुन् डा.रोजर स्पेरी जसले आफ्नो गहन खोजका कारण सन् १९८१ मा नोबल पुरस्कार प्राप्त गरेका थिए । उनका अनुसार मस्तिष्कका २ वटा भागले निम्न काम गर्दछन् ः–

बायाँ मस्तिष्कको काम :

Logic, Words, Lists, Number, Sequence, Lineality, Analysis

दायाँ मस्तिष्कको काम :

Rhythem, Imagitation, Day Dreaming, Colour,Dimensions, Special Awareness, Gestalt (Whole picture)

संसारका सफल मानिसहरुमा गरिएको सर्वेक्षणले के बताउँछ भने जसले दायाँ र बायाँ दुबै मस्तिष्कको प्रयोग गर्छ उसले अधिक सफलता प्राप्त गर्छ । यसमा सबैभन्दा महत्वपूर्ण कुरा दायाँ मस्तिष्क कसरी प्रयोग गर्ने भन्ने हो ।

दायाँ मस्तिष्कले गर्ने सबैभन्दा महत्वपूर्ण काम हो – कल्पना । आज संसारमा जति पनि महत्वपूर्ण कामहरु भएका छन् सबै कल्पनाशिलताकै कारण भएका छन् । बैज्ञानिक आविष्कार, कला, साहित्य,संगीत,खेल, आदि सबै क्षेत्रका सफल व्यक्तिहरुको एकमात्र रहस्य कल्पना नै हो ।

 

महान् कलाकार लियानार्दो दा भिन्चीले कोरेको काल्पनिक    रेखाचित्रका आधारमा राइट ब्रदर्सले हवाइजहाजको आष्किार गरे । बगैंचामा बस्दा स्याउको दाना भूईँतिर खसेको देखेका न्यूटनले गुरुत्वाकर्षण शक्ति पत्ता लगाए । त्यसैगरी आइन्सटाइन , माइकल फेराडे, आर्किमिडिज, डार्बिन, डा. स्टेफेन हकिङ लगायत जति पनि वैज्ञानिकहरुका सफलताका रहस्यहरु केलाउने हो भने एउटै उत्तर आउँछ  कल्पनाशिलता । त्यसैगरी संसारमा रचना भएका महान् साहित्यमा पनि कल्पनाशिलताकै प्रचुरता भेटिन्छ । कालिदासको अभिज्ञान शाकुन्तल, होमर, भर्जिल, गेटे, दाँते, शेली, वर्डस्बर्थ, शेक्सपियर, कलरिज, देवकोटा सबै साहित्यकारको सफलताको रहस्य पनि कल्पनाशिलता नै हो । त्यसैले हाम्रो जीवनमा कल्पना अति महत्वपूर्ण छ जसले हामीलाई केही गर्ने उर्जा प्रदान गर्दछ ।

 हामी तर्क –वितर्कका कुरा गर्छौँ । सत्य र तथ्यको खोजी महत्वपूर्ण हो भन्छौं तर कल्पनाविनाको तर्क अपूर्ण हुनपुग्दछ । त्यसैले ठूला ठूला वैज्ञानिकहरु जो तर्क र सत्यलाई पुष्टि गर्छन् उनीहरुले पनि कल्पनालाई नकार्न सकेका छैनन । आइन्साटाइनले भनेका छन् :” Imagatation is more powerful than knowledge.”

कुनै पनि काम गर्नु भन्दा पहिले त्यस कामकोे विषयमा मनै मनले कल्पना गरेर अगाडि बढेमा पक्कै पनि सफल हुन सकिन्छ । मनको तयारी नगरी गरेका काम अधुरा र असफल हुन्छन् । विश्वप्रसिद्ध खेलाडी पेलेले फुटबल मैदानमा जानुभन्दा अगाडि कैयौं पटक गोल गरेको कल्पना गर्दथे । सचिन तेन्दुलकर क्रिकेट मैदानमा प्रवेश गर्नु अगाडि कैंयौं शतक बनाएको कल्पना गर्दथे । मानिसको शारीरिक सफलताको पछाडि पनि मस्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ । मस्तिष्क र शरीरको उचित समीकरणद्धारा मात्र  कुनै पनि काममा सफलता हात लाग्दछ । त्यसैले कुनै पनि काम गर्नु भन्दा पहिले मानसिक रुपमा तयार हुनु जरुरी छ । पहिलो पटक सगरमाथा चढ्ने एडमण्ड हिलारीले कल्पनामा कैंयौंपटक सगरमाथा चढिसकेपछि शारीरिक रुपमा सगरमाथा चढ्न सफल भएका थिए  ।

यसरी संसारका सफलतम व्यक्तित्वहरुको सफलताको रहस्य कल्पनाशक्ति हो । कल्पना मस्तिष्कको दायाँ भागमा उत्पन्न हुन्छ । बायाँ मस्तिष्कबाट उत्पन्न विचारलाई दायाँ मस्तिष्कको कल्पनाले रंगाउन सक्यो भनेमात्र कुनै पनि काम सफल हुन सक्दछ । हामी पनि आजैदेखि दायाँ र बायाँ दुबै मस्तिष्कको उचित उपयोग गरौं । सफलता धेरै टाढा छैन ।